के कारणले आउँछ डन्डीफोर ?

डन्डिफोर सबैलाई एक न एक पटक आउने गर्छ। किशोरावस्था वा २० देखि ३० वर्षको उमेरमा यो समस्या देखिन्छ।

डन्डिफोरलाई छालासँग सम्बन्धित समस्याका रूपमा पनि मान्ने गरिन्छ। हाम्रो छालामा हुने एक प्रकारको ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ।

डन्डिफोर सौन्दर्यसँग जोडिने भएकाले सबैले चिन्ता गर्छन् तर पुरुषको तुलनामा महिलालाई चिन्ता बढी लाग्ने गरेको चिकित्सक बताउँछन्।

कतिपय मानिस डन्डिफोरको उपचारका लागि धेरै डाक्टरकोमा वा अस्पतालमा धाउने र विभिन्न प्रकारका कस्मेटिक सामग्री प्रयोग गर्ने गरेको धेरै सुनिन्छ। तर छालारोग विशेषज्ञका अनुसार डन्डिफोर तुरुन्तै निको भइहाल्ने हुँदैन। डन्डीफोर आएमा पहिलो उपचार भनेको बेलाबेलामा फेसवास गर्ने नै हो।

बेलाबेलामा सफा पानी र आफ्नो छालाअनुसारको फेसवासको प्रयोग गरेर अनुहारलाई सफा राख्नुपर्छ। धेरै नै जटिल किसिमको डन्डीफोर आयो भने चिकित्सकसम्म पुगेर औषधिको प्रयोग गर्न सकिन्छ। यो निश्चित समयपछि आफै निको भएर जाने हुँदा तुरुन्तै उपचार नगर्दा पनि हुने चिकित्सकको भनाइ छ।

डन्डिफोर आउने कारण

–हर्मोनमा परिवर्तन तथा खराबी ।

–अनियमित महिनावारी ।

–खराब खानपान ।

–तनाव र अनिद्रा ।

–उत्तेजना, क्रोध र भय ।

–शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।

–लामो समयसम्म कब्जियत ।

यसो गरे राम्रो

अनुहार हरदम सफा राख्ने, किनेभने धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन नपाओस् ।

सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।

डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै ठीक हुन्छ ।

निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।

राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा राहत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?