नेपथ्यले पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुति दिँदै

काठमाडौँ– साङ्गीतिक ब्याण्ड नेपथ्यले पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुति दिने भएको छ ।

२०८१ को अघिल्लो साँझ नेपथ्यको प्रस्तुति हुने जनाएको छ । नेपथ्यका अनुसार झापा जिल्लाका महत्वपूर्ण केन्द्रहरुलाई जोड्ने आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्याण्डका लोकरक भाकाहरु गुञ्जनेछन् ।

बढ्दो व्यस्तता र शहरीकरणसँगै यातायात आवागमनको पनि तीव्र वृद्धि भएको बिर्तामोडमा यसअघि नेपथ्यले ‘ट्राफिक व्यवस्थापन’ मा योगदान दिन कन्सर्ट गरेको थियो ।

यस भेगमा सवारी दुर्घटनाको मात्रा अत्यधिक वृद्धि भएको बेला सुरक्षित आवागमनको नाराका साथ पाँच वर्षअघि नेपथ्य प्रस्तुत भएको थियो । त्यसभन्दा पहिले भने द्वन्द्वकालमा शान्तिको आव्हान गर्दै ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत नेपथ्यले यसै भूमिमा गीतहरु सुनाएको थियो ।

अहिलेको यो नवीन नगरपालिका त्यतिबेला भने ‘अनारमनी गाविस’ भनेर चिनिन्थ्यो । यसरी बिर्तामोडको विकासक्रमसँग जोडिँदै आएको नेपथ्यले अब भने यस शहरकै प्रमुख खेलकूद आयोजना ‘झापा गोल्डकप’लाई योगदान दिने उद्देश्यका साथ आफूलाई प्रस्तुत गर्न लागेको हो ।

‘यो सिंगो भेगका दर्शक हाम्रा लागि बहुमूल्य निधिका रुपमा रहँदै आएका छन्,’ नेपथ्यका गायक अमृत गुरुङ भन्छन्, ‘कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्याण्ड फेरि जुर्मुराएको विन्दु छेवैको दमक बन्न पुगेको थियो ।

केही दिनअघि मात्र पनि हामी अर्काे छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौं ।’
नेपथ्य मनपराउने दर्शक घेरामा उभिनका लागि सदैव उत्साहित रहने गरेकामा अबको केही दिनमै बिर्तामोडका संगीतप्रेमीहरु माझ पुग्न आतुर भइरहेको पनि गुरुङले भने ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ । नेपथ्य यसभन्दा अघिल्लो कन्सर्टका बेला पनि यसै मैदानमा उभिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?