फिल्म

‘मेयर’ मार्फत राजनीतिक फिल्मको असली स्वाद पस्किँदै दीपेन्द्र र खगेन्द्र

काठमाडौँ– दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘मेयर’ को छायाङ्कन केही समयअघि सकिएको छ । यतिबेला यो फिल्मको पोस्ट प्रडक्सनको काम भइरहेको छ ।

निर्माण टिमका अनुसार फिल्मको छायाङ्कन ५१ दिन लगाएर सकिएको हो । उनीहरूका अनुसार फिल्म विशुद्ध राजनीतिक कथामा आधारित छ ।

काठमाडौंको मल्ल होटेलबाट शुरु भएको सिनेमाको छायांकन सर्लाही र सिन्धुलीमा पनि गरिएको थियो । अधिकांश दृश्य सर्लाहीमा खिचिएको सिनेमाको केही सिनमात्रै सिन्धुली र काठमाडौंका खिचिएको थियो ।

निर्देशक खनालले ‘मेयर’ आफ्ना लागि विशेष रहेको बताए । उनले सोचेभन्दा पनि ‘कम्फर्ट जोन’मा रहेर सिनेमाका छायांकन सकिएको बताए ।

साथै उनले छायाङ्कनका क्रममा केही दिनको अन्तरालमा भव्य क्राउड सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

अपेक्षा गरेभन्दा पनि ठूलो क्राउडमा सिनेमाको छायांकन गरेको निर्देशक खनालले बताएका छन् । एउटै सिन ११ हजारभन्दा धेरै क्राउड जम्मा गरेर छायांकन भएको उनले बताए ।

नेपाली सिनेमा कै इतिहासमा ठूलो क्राउडमा आफूले सिनेमा खिच्ने अवसर पाएको उनको भनाइ छ ।

‘मेरो जीवनकै सबैभन्दा ठूलो क्राउडमा यो सिनेमा खिचेको छु,’ उनी भन्छन्, ‘मेरो मात्रै होइन सम्भवत यो नेपाली सिनेमाकै इतिहासमा ठूलो क्राउडमा यो सिनेमा खिचिएको हुनुपर्छ ।’

राजनीतिक सिनेमा भनेर भनिए पनि दुई दर्जनको भीड जम्मा गर्न पनि कठिन हुने गरेको र त्यसको असर पर्दामा देखिने गरेको उनी बताउँछन् । यसपटक भने यो समस्या आफूले झेल्नु नपरेको उनको भनाइ छ ।

पर्दामा ‘मेयर’ कति भव्य देखिन्छ त्यसले अहिले आफूले भनेको कुरा प्रमाणित गर्ने भन्दै उनी भन्छन्, ‘मैले बनाएको भनेर म दाबी गरिरहेको छैन । यो नेपाली राजनीतिक सिनेमाको इतिहासमा नेपालमै ट्रनिङ पोइन्ट हुनेछ ।’

ठूलो क्राउड हुँदा एक हदसम्म यसै राजनीतिक सिनेमा राम्रो हुने उनको भनाइ छ । ‘राजनीतिक विषयको सिनेमामा यति धेरै क्राउड नेपाली सिनेमामा पहिलो पटक देखिनेछ । नगरपालिका र स्थानीयको सहयोगमा यो सम्भव भएको हो । यसले सिनेमाको प्रोडक्सनलाई रिच बनाएको छ । यसको सकारात्मक प्रभाव सिनेमामा देखिनेछ । यसले सिनेमालाई भव्य त देखाउने नै छ, यसले थप विश्वस्नीय पनि बनाउनेछ ।’

दर्शकले नेपाली सिनेमामा पहिलो पटक राजनीतिक सिनेमाको फिल गर्न पाउने निर्देशक खनालको भनाइ छ ।
ठूलो मास हुनबित्तिकै राजनीतिक सिनेमा को रंग नै अर्कैै हुने उनले बताए । जनतासँग सिनेमालाई जोड्न पनि छायांकनमा क्राउड उत्तिकै जरुरी रहेको निर्देशक खनाल बताउँछन् ।

‘मेयर’ले राजनीतिक सिनेमा कस्तो हुन्छ भनेर त्यसको असली टेस्टसँगै तराइमा बजार विस्तार गर्न पनि सहयोग गर्ने उनको विश्वास छ ।

‘एकातिर हामीलाई क्राउडले सहज बनाइरहेको थियो । स्टोरी अनुसारको भिडले सहज बनाइरहेको थियो,’ निर्देशक भन्छन्, ‘अर्कोतिर दशौँ हजारको भीड व्यवस्थापन गर्न त्यति नै चुनौती पनि थियो । भिडकै कारण केही दिन छायांकन लम्बियो । तर हामी खुसी छौँ ।’

सिनेमाको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । जसलाई सिनेमामा दर्शकले मेयरको भूमिकामा देख्न पाउनेछन् ।

खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय छ ।

यो सिनेमाबाट निर्माताको रूपमा श्रृष्टिमाँ खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यू गरेका छन् ।

सिनेमा ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ ।

सिनेमाको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल हुन् । पटकथा महेश दवाडीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?