‘वार २’ को पहिलो समीक्षा सार्वजनिक, ऋतिक–एनटीआरको जोडीलाई दर्शकको उत्साह

काठमाडौँ – ऋतिक रोशन र जूनियर एनटीआर अभिनीत बलिउड फिल्म ‘वार २’ को पहिलो समीक्षा सार्वजनिक भएको छ। आगामी साउन २९ गते (अगस्ट १४) प्रदर्शन हुन लागेको फिल्मको सेन्सर स्क्रिनिङमा आधारित समीक्षा सकारात्मक देखिएको छ।

फिल्म समीक्षक उमर सन्धुले ‘वार २’ लाई उत्कृष्ट एक्सन, कथावस्तु र कलाकारहरूको अभिनयका कारण हिट हुने विश्वास व्यक्त गरेका छन्। उनले फिल्मलाई ४ तारा दिँदै ऋतिक र एनटीआरबीचको केमेस्ट्रीलाई ‘जादुमय’ भनेका छन्।

समीक्षामा उनले लेखेका छन्, “फिल्ममा ट्युनिङ, एक्सन र नृत्य मुख्य प्लस पोइन्ट हुन्। एनटीआरले हिन्दी डेब्युमै दर्शकको मन जितेका छन् भने ऋतिक पनि राम्रो फर्ममा छन्।”

कियारा आडवाणीको भूमिकालाई ग्ल्यामरस पक्षमा सीमित गरिएको सन्धुले बताए। फिल्मको बीजीएम, क्लाइमेक्समा रहेको ट्विस्ट तथा पटकथालाई सन्धुले उच्च मूल्यांकन गरेका छन्।

अग्रिम बुकिङबाट राम्रो कमाइ

फिल्मको अग्रिम बुकिङ पनि उत्साहजनक देखिएको छ। भारतीय व्यापार विश्लेषक साइट साकनिल्कका अनुसार ‘वार २’ ले अग्रिम बुकिङमार्फत अहिलेसम्म ६.२३ करोड भारतीय रुपैयाँ कमाइसकेको छ। रिलिजमा अझै तीन दिन बाँकी रहेकाले कमाइमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ।

‘वार २’ अभिनेता ऋतिक रोशन अभिनीत ‘वार’ (२०१९) को सिक्वेल हो। यो फिल्म यशराज फिल्म्सको स्पाइ युनिभर्स अन्तर्गत निर्माण भएको हो, जसमा ‘पठान’ र ‘टाइगर’ जस्ता चलचित्र पनि समावेश छन्। ‘वार २’ को प्रदर्शन बलिउड फिल्म ‘कुली’सँग हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?