‘सैयारा’ फिल्म सुरुमा सिद्धार्थ–कियारालाई प्रस्ताव, पछि अहान–अनित भए छनोट

काठमाडौँ- बलिउड फिल्म ‘सैयारा’ ले प्रदर्शन सुरु भएदेखि नै बक्स अफिसमा धमाकेदार उपस्थिति जनाउँदै १७ दिनमा ३०८ करोड २५ लाख भारू कमाउँदै चर्चा बटुलेको छ।

अहान पाण्डे र अनित पड्डा अभिनीत यो रोमान्टिक म्युजिकल फिल्मले नयाँ कलाकारहरूका बाबजुद दर्शकमाझ गहिरो प्रभाव जमाउन सफल भएको छ।

फिल्मको प्रमुख आकर्षण बनेको छ — अहान र अनितको नयाँ जोडी। उनीहरूबीचको स्वाभाविक केमेस्ट्री र भावनात्मक प्रस्तुतीकरणले दर्शकलाई भावुक बनाएको छ। फिल्म रिलिजपछि यी दुवै नव–कलाकार चर्चाको शिखरमा पुगेका छन्, यद्यपि उनीहरू सुरुमा निर्देशकको पहिलो रोजाइ थिएनन्।

भारतीय मिडियाका अनुसार निर्देशक मोहित सुरीले आरम्भमा यो फिल्मका लागि सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीलाई मुख्य पात्रका रूपमा लिने योजना बनाएका थिए। तर, सिद्धार्थको लुक टेस्ट मोहितको अपेक्षा अनुसार नआएको र स्क्रिप्ट तथा तालिकामा मतभेद भएपछि नयाँ अनुहारको खोजी गरिएको थियो। त्यसक्रममा अहान पाण्डे र अनित पड्डा उपयुक्त ठहरिएपछि फिल्ममा ल्याइयो।

फिल्म रिलिज हुनुअघि नै ‘सैयारा’ को तुलना मोहित सुरीकै लोकप्रिय फिल्म ‘आशिकी २’ सँग गरिएको थियो। यसबारे निर्देशक सुरीले दैनिक जागरणलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “जब म मेरो कामको तुलना अरूको होइन, आफ्नै अघिल्ला कामहरूसँग हुन्छ, त्यसलाई म गर्वको रूपमा लिन्छु।”

उनले थपे, “म जब ‘जहर’ बनाउँथे, उनीहरूले ‘मर्डर’ जस्तो भने। ‘एक भिलेन’ बनाउँदा ‘मर्डर २’ जस्तो भनियो। ‘मलंग’ लाई ‘एक भिलेन’ सँग तुलना गरियो। अब ‘सैयारा’ लाई पनि मेरो अघिल्लो कामहरूसँग तुलना गरिन्छ। यसलाई म सकारात्मक रुपमा लिन्छु।”

१७ दिनमै भारतमा ३०८ करोडभन्दा बढी कमाउने ‘सैयारा’ ले नेपाल र अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो व्यापार गरिरहेको छ। फिल्मको संगीत, कथा, निर्देशन र अभिनयले दर्शकको मन जित्दै बलिउडमा नयाँ ऊर्जा थपेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?