जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा

काठमाडौँ– कप्तान श्रेयस अय्यरको अविजित अर्धशतकको मद्दतले पञ्जाब किंग्सले आइपिएल २०२५ को क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै ११ वर्षपछि फाइनलमा स्थान बनाएको छ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा आइतबार साँझ भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ६ विकेट गुमाउँदै २०३ रनको चुनौतीपूर्ण योगफल दिएको थियो । तर जवाफमा पञ्जाबले १९ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

खेल सुरु हुनुअघि वर्षाले अवरोध पुर्‍याएपछि २ घण्टा १५ मिनेट ढिला खेल सुरु भएको थियो। टस सम्पन्न भइसकेको अवस्थामा पानी परेपछि केही समय खेल रोकिएको थियो। यद्यपि खेलमा ओभर कटौती गरिएको थिएन।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबको सुरुवात राम्रो भएन। टोलीले सुरुवाती तीन विकेट ७२ रनमै गुमाएको थियो। तर त्यसपछि कप्तान श्रेयस अय्यर र नेहल वधेराले चौथो विकेटका लागि ८४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै पञ्जाबलाई पुनः लयमा फर्काए।

श्रेयस अय्यरले जिम्मेवार कप्तानी इनिङ्स खेल्दै ४१ बलमा अविजित ८७ रन बनाए। उनको इनिङ्समा ५ चौका र ८ छक्का सामेल थिए। उनले २७ बलमै अर्धशतक पूरा गरेका थिए।

१९ औं ओभरको अन्तिम बलमा उनले अश्विनी कुमारलाई छक्का प्रहार गर्दै पञ्जाबलाई जित दिलाए। उनी ‘प्लेयर अफ द म्याच’ समेत घोषित भए।

नेहल वधेराले ४८ रन बनाए भने जोश इन्ग्लिसले ३८ रनको योगदान दिए। अन्य खेलाडीहरूमा प्रियांश आर्यले २० रन, प्रभसिमरन सिंहले ६ रन, शशांक सिंहले २ रन बनाए भने मार्कस स्टोइनिस २ रनमा अविजित रहे।

मुम्बईका लागि अश्विनी कुमारले दुई विकेट लिए भने हार्दिक पाण्डे र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए। यस हारसँगै पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सको यात्रा क्वालिफायर–२ मा टुंगिएको छ। टोलीले एलिमिनेटरमा गुजरात टाइटन्सलाई हराएर क्वालिफायर–२ मा स्थान बनाएको थियो, तर कप्तान हार्दिक पाण्डेको नेतृत्वमा रहेको टोली फाइनल पुग्न असफल रह्यो।

अब पञ्जाब किंग्सले आगामी जुन ३ मा सोही नरेन्द्र मोदी रंगशालामा रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) सँग उपाधिका लागि भिड्नेछ। विशेष कुरा के हो भने, न त पञ्जाबले न त आरसिबीले अहिलेसम्म आइपिएल उपाधि जित्न सकेका छन्। त्यसैले, आइपिएल २०२५ मा नयाँ च्याम्पियन टिम पक्कै हुने भएको छ।

पञ्जाबले यसअघि सन् २०१४ मा पहिलो पटक फाइनल खेलेको थियो, तर उपविजेता बनेको थियो। अब ११ वर्षपछि फेरी उपाधिका लागि संघर्ष गर्न पाउने अवसर प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?