जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साम्बा महिला फुटबल टोलीको नयाँ कप्तान

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीको ऐतिहासिक १००औं अन्तर्राष्ट्रिय खेलमा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले पहिलोपटक टोलीको कप्तानी सम्हालेकी छन्।

नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध आइतबारको खेलअघि सावित्रालाई कप्तानको जिम्मेवारी सुम्पिए। सावित्रा नेपाली महिला टिमको ११औं कप्तान बनेकी हुन्।

पूर्वकप्तान एञ्जिला तुम्बापो सुब्बा पहिलो रोजाइमै नपरेपछि र नियमित कप्तान रेनुका नगरकोटी घाइते भएकाले साम्बाले कप्तानीको मौका पाएकी हुन्। कप्तानीको दौडमा रेनुका नगरकोटी र अनिता बस्नेत पनि थिए, तर प्रशिक्षकको रोजाइ साम्बामा पर्‍यो।

एन्फाको तर्फबाट भनिएको छ‘सावित्रा भण्डारीलाई महिला राष्ट्रिय टोलीको नयाँ कप्तानको रूपमा नियुक्त गरिएको छ। उनले प्रशिक्षक प्याट्रिक डी वाइल्डबाट आर्मब्यान्ड ग्रहण गर्दै लाओसविरुद्धको खेलमा टोलीलाई नेतृत्व दिनेछिन्।’

ऐतिहासिक १००औं खेल
महिला टोलीले १९८६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। त्यसयता झन्डै ४ दशक बित्दा आइतबारको खेल १००औं बन्यो। नेपालले हालसम्म खेलेका १०० खेलमध्ये ४६ जित, १६ बराबरी र ३७ हार भोगेको छ। सुरुआती चरणमा लामो अन्तरालपछि मात्र अन्तर्राष्ट्रिय खेल खेल्न पाएको नेपाली महिला टोलीको प्रगति पछिल्लो दशकमा उल्लेखनीय छ।

को हुन् सावित्रा साम्बा?
सावित्रा भण्डारी, ‘साम्बा’ उपनामले परिचित, एपीएफ क्लबबाट खेल्छिन्। उनले २०१४ मा भुटानविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। ५७ खेलमा ५६ गोल गरिसकेकी साम्बा दक्षिण एसियाकै एक उत्कृष्ट फरवार्ड हुन्।

उनी युरोपियन लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी हुन्। उनले इजरायलको ‘हापोयल रानाना’ क्लबबाट युरोप यात्रा सुरु गर्दै फ्रान्सको ‘एन अभान्ट गुएङग्याम्प’ क्लबमा समेत खेलिसकेकी छन्।

समूह ‘एफ’ मा नेपाल
नेपाल एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ मा परेको छ। सो समूहमा नेपालसँग आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन्।

नेपालले १८ असारमा श्रीलंकासँग र २१ असारमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह विजेता टोलीले महिला एसियन कपमा स्थान बनाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?