जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गण्डकीमा बर्खे धान बालीको क्षेत्रफल घट्दै

गण्डकी – गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७९÷८० मा ९७ हजार ७६९ हेक्टरमा धानखेती गरिएकामा गत वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टर पुगेको हो । यस वर्ष भने ९४ हजार १८२ हेक्टरमा धान रोपाइँ हुने प्रदेश कृषि विकास निर्देशनालयको अनुमान छ ।

घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालयले जनाएको छ । रोपाइँको क्षेत्रफल घटेपनि धानको उत्पादकत्व भने बढेको पाइएको छ । दुई वर्षअघि प्रतिहेक्टर तीन दशमलव छ मेट्रिक टन धान उत्पादन भएकामा गत वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको थियो ।

अनुकूल हावापानी, रासायनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्नत बिउविजन आदि कारणले धानको उत्पादकत्व बढ्ने गरेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए । मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा बर्खे र चैतै धान खेती हुँदै आएको छ ।

प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान बाली बढी लगाइन्छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ । यही असार १५ सम्म प्रदेशमा २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ । जुन २८ दशमलव २० प्रतिशत हो । सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको हो । वर्षा कम हुँदा र पानीका मुल नफुटेका कारण अपेक्षित रुपमा रोपाइँ हुन नसकेको निर्देशनालयका कृषि अर्थ विज्ञ पौडेलले बताए ।

“यही असार १५ गतेसम्मको अवस्था हेर्दा गत वर्षको तुलनामा कम रोपाइँ भएको देखिन्छ”, उनले भने, “बाह्रैमास सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ भइसकेको छ, आकाशे पानीमा निर्भर हुनुपर्ने ठाउँमा अपेक्षित रुपमा वर्षा नहुँदा रोपाइँ ढिलो भइरहेको छ ।” वर्षाले साथ दिएमा असार अन्त्यसम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने उनको भनाइ छ । गण्डकीमा असार र चैतमा गरी दुई याममा रोपाइँ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?