जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भ्यालेन्टाइन विक स्पेशल

२४ वर्ष जेठी प्रेमिकासँग बिहे गरेका फ्रान्सेली राष्ट्रपति म्याक्रों र ब्रिजटको रोचक प्रेम कथा

आफ्नै उमेर समूहकी युवतीसँग प्रेम गरोस् भनेर ब्रिजटले बढाएकी थिइन् म्याक्रोंसँग दूरी

काठमाडौँ– भनिन्छ, प्रेम अन्धो हुन्छ । अन्धो प्रेमले जात, वर्ग, धर्म, उमेर, रंग अथवा दूरी हेर्दैन । आधुनिक समयमा यस्तो प्रेम विरलै देख्न पाइन्छ । अझ प्रेमी र प्रेमिकाबीच उमेरको अन्तर धेरै भए समाजले पनि त्यसलाई राम्रो नजरले हेर्दैन ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंको अनौठो प्रेम जीवन पनि विभिन्न रोचक किस्साले भरिएको छ । म्याक्रों अहिले ४६ वर्षका भए । सन् २०१७ मा राष्ट्रपतिको पद सम्हाल्दा उनको उमेर केबल ३९ वर्ष थियो । २९ वर्षको उमेरमा उनले सन् २००७ मा विवाह गरेका थिए ।

रमाइलो कुरा त के छ भने उनले आफ्नै शिक्षिकासँग विवाह गरेका हुन् । म्याक्रोंभन्दा उनकी श्रीमती ब्रिजट उमेरले २४ वर्ष जेठी हुन् । म्याक्रों आमिन्येँमा रहेको ला प्रोभिडाँस विद्यालयमा पढ्दै गर्दा यी दुईको भेट भएको थियो । त्यसबेला म्याक्रोंको उमेर १५ वर्ष थियो भने ब्रिजटको उमेर ३९ वर्ष । विद्यालयको नाट्यशालामा सँगै काम गर्ने क्रममा दुई जनाबीच प्रेम सम्बन्ध शुरु भएको ठानिन्छ ।

हालै पेरिस म्याचलाई दिएको दुर्लभ अन्तर्वार्तामा ब्रिजटले आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले आफू क्याथोलिक विद्यालयमा नाट्य शिक्षिकाको रुपमा काम गर्दा म्याक्रोंसँग भेट भएको जानकारी दिएकी छिन् । त्यसबेला ब्रिजट २० वर्षदेखि वैवाहिक सम्बन्धमा थिइन् । उनका श्रीमान् आन्द्रे लुई औजेर बैंकर थिए भने उनीहरुका तीन जना सन्तान थिए ।

यतिमात्रै होइन, ब्रिजट–आन्द्रे दम्पत्तिका केटाकेटी म्याक्रोंसँगै पढ्थे ।

‘स्कुलमा पढाउने आकर्षक शिक्षिकासँग प्रेममा पर्नेबेला १६ वर्ष मा नै इम्मानुएल धेरै प्रतिभाशाली विद्यार्थी थिए ।,’ इल भेनइ डाभोइ डि सेप्ट आँ (ऊ भर्खरै १७ वर्ष पुग्यो) किताबका लेखक सिल्भी बोमेल भन्छन् ।

म्याक्रोंसँगको प्रेम सम्बन्धबारे पेरिस म्याचसँग ब्रिजट भन्छिन्, ‘यस्तो कलिलो केटाले मलाई आकर्षित गरिहाल्यो ।’

समाचारमा जनाइएअनुसार म्याक्रोंका अभिभावकले भने म्याक्रोंले ब्रिजटकी छोरीसँग डेटिङ गरिरहेको ठानेका थिए । ब्रिजटकी छोरी र म्याक्रोंको उमेर समान नै हो । म्याक्रोंले ब्रिजटसँग डेटिङ गरिरहेको परिवारलाई कति पनि मन परेको थिएन ।

ब्रिजटसँगको डेटिङ गरिरहेको थाहा पाएपछि परिवारले म्याक्रोंलाई पेरिसको बोर्डिङ स्कुलमा भर्ना गरिदिएका थिए । त्यस बखत ब्रिजटले पनि आफ्नै उमेरकी युवतीसँग प्रेम गरोस् भन्दै म्याक्रोंसँग दूरी बढाएकी थिइन् । तर, हुनुपर्ने कुरा भएरै छाड्छ ।

त्यसपछिको १० वर्ष उनीहरुको जीवनमा धेरै परिवर्तन भए । म्याक्रों पेरिस गएकोे १० वर्षसम्म दुवै जना एक अर्काको सम्पर्कमै बसे ।

‘इम्मानुएलले पेरिस जानुपर्ने भयो, आफ्नै उमेरकी युवतीसँग प्रेम गर्ला भनेर सोचेकी थिएँ, त्यसो भएन,’ ब्रिजटले पेरिस म्याचसँग भनेकी छिन् ।

त्यो १० वर्षमा आफूले आफ्ना छोराछोरीका लागि बन्दोबस्त मिलाइदिएको ब्रिजट बताउँछिन् ।

‘उनीहरुको जीवन नब्रिगियोस् भनेर मैले धेरै समय लिएँ । १० वर्षसम्मको समयलाई मैले उनीहरुको जीवनलाई लयमा ल्याउने काम गरेँ ।’ उनले भनिन् ।

यो समयमा म्याक्रोंले पेरिसको नान्ट्रे विश्वविद्यालयबाट शिक्षा लिएर साइन्सेज पोबाट स्नातकोत्तर सकेका थिए । पछि सन् २००४ मा उनी एकोले नेशनल डि एड्मिनिस्ट्रेशनबाट दीक्षित भए । त्यसपछि उनले रोथ्सचाइल्ट एण्ड कम्पनी बैंकमा जागिर शुरु गरेका थिए । उनको बैंकिङ करियर पनि राम्रैसँग चलिरहेको थियो ।

सन् २००६ मा ब्रिजटले आफ्ना श्रीमान् आन्द्रे लुईसँग सम्बन्ध विच्छेद गरिन् । त्यसको एक वर्षपछि सन् २००७ मा ५४ वर्षीया ब्रिजट र २९ वर्षीय म्याक्रोंले ला तोके समुद्री रिसोर्टमा बिहे गरे । बैंकिङ क्षेत्रमा कार्यरत म्याक्रोंको परिवारले यो विवाहलाई अस्वीकार गर्न सकेन । साथै ब्रिजटको परिवारले पनि दुईबीचको विवाहलाई स्वीकार गर्‍यो । विवाह समारोहमा दुबै जनाको परिवारका सदस्य भेला भएका थिए ।

सन् २०१७ मा राष्ट्रपतिमा निर्वाचित भएपछि ब्रिजटलाई सम्बोधन गर्दै म्याक्रोंले भनेका थिए, ‘ब्रिजट जहिल्यै पनि मेरो साथमा रहन्छिन् । र, अझ ठूलो कुरा, उनीबिना म–म बन्न असमर्थ छु ।’

आफ्ना श्रीमानको कुन गुण सबैभन्दा धेरै मनपर्छ ? भन्ने प्रश्नमा ब्रिजट भन्छिन्, ‘मैले यस्तो स्मरण शक्ति, यस्तो बौद्धिक क्षमता देखेकै छैन । मेरा धेरै प्रतिभाशाली विद्यार्थी थिए, उनीहरुमध्ये कसैसँग पनि त्यस्तो क्षमता थिएन । मलाई म्याक्रोंको यही गुण मन पर्छ ।’

ब्रिजटका तीन सन्तान र म्याक्रोंको उमेर उत्तिकै छ । ब्रिजटकी छोरी लरेन्सले म्याक्रोंसँगै एउटै कक्षामा पढेकी हुन् भने अर्की छोरी टिफनी म्याक्रोंभन्दा ६ वर्ष कान्छी हुन् । ब्रिजटका छोरा सेबास्टियन म्याक्रोंभन्दा केही वर्ष जेठा हुन् । विवाह भएको यति लामो समय बितिसक्दा पनि म्याक्रोंले ब्रिजटका तीनै जना सन्तानसँग राम्रो र नजिकको सम्बन्ध बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?