देशभक्तिपूर्ण एक्सन फिल्म ‘परिवर्तन’को झलकमा सुशिल दमदार

काठमाडौँ – अभिनेता सुशिल श्रेष्ठ अभिनीत फिल्म ‘परिवर्तन’को छायांकन सेटबाट पहिलो झलक सार्वजनिक गरिएको छ। सार्वजनिक तस्वीरहरूमा सुशिलले दमदार एक्सन अवतारमा आफूलाई प्रस्तुत गरेका छन्।

पहिलो झलकमा उनी पानीमा भिजेर लडिरहेको देखिन्छन् भने दोस्रो दृश्यमा रक्ताम्मे अनुहारमा बन्दुक ताकिरहेका छन्। यस दृश्यले फिल्मको एक्सन पक्षलाई ‘इन्टेन्स’ बनाउने संकेत दिएको छ।

यसअघि फिल्म ‘आउट ल’ मा प्रभावशाली एक्सन पस्किएका सुशिलले ‘परिवर्तन’ लाई अझ ठूलो स्तरको एक्सन फिल्मका रूपमा व्याख्या गरेका छन्। उनले भने, “नेक्स्ट लेभलको छ एक्सन। मेरो लागि यो लेभलको एक्सन पहिलोचोटी हो।” फिल्मको एक्सन कोरियोग्राफी श्री श्रेष्ठले गरिरहेका छन्।

निर्देशक विजय केरुङको निर्देशनमा बनेको यो फिल्मको छायांकन झापा, विराटनगर लगायत पूर्वी नेपालका विभिन्न स्थानमा ५० दिनदेखि भैरहेको छ। निर्माण टिमका अनुसार, केही दिनभित्र छायांकन सम्पन्न हुने तयारीमा छ।

देशभक्तिपूर्ण एक्सन फिल्मको रूपमा निर्माण भइरहेको ‘परिवर्तन’ मा सुशिलसँगै अञ्जना बराइली, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको प्रदर्शन मिति भने औपचारिक रूपमा घोषणा गरिएको छैन। तथापि, सार्वजनिक झलकहरूले फिल्मप्रति दर्शकको उत्सुकता बढाएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?