जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘गुन्युचोलो : द ड्रेस’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौँ – नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्युचोलो : द ड्रेस’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नाजिरले ट्रान्सवुमन ‘गुलाबी’को भूमिका निर्वाह गरेका छन्, जसले सामाजिक पूर्वाग्रह, पारिवारिक निराशा र आत्मपहिचानको गहिरो द्वन्द्व उजागर गर्छ।

२ मिनेट १८ सेकेन्डको ट्रेलरमा गुलाबीले आफ्ना भित्री अनुभूतिहरूलाई समाजका सामु ल्याउने संघर्ष र साहस प्रस्तुत गरिएको छ। ट्रेलरमा नाजिरको संवाद “म अब म भित्रको म लुकाएर बस्न सक्दिन… मलाई त्यो बन्न शक्ति दिनूस” ले फिल्मको मूल सन्देश स्पष्ट पार्छ।

फिल्मको निर्देशन समुन्द्र भट्टले गरेका हुन्, भने निर्माता सञ्जय शर्मा हुन्। फिल्म भदौ १३ गते (२९ अगस्ट २०२५) सार्वजनिक प्रदर्शनमा ल्याइने तयारी निमार्ण पक्षकाे छ। यसअघि सार्वजनिक गरिएको गीत “म फूल हुँ कि काँडा” दर्शकमाझ लोकप्रिय भइसकेको छ।

‘गुन्युचोलो : द ड्रेस’ले ट्रान्सवुमन समुदायको जीवनभोगाइ, संघर्ष र पहिचानका विषयमा केन्द्रित रहेर सामाजिक सन्देशमूलक कथावस्तु प्रस्तुत गर्ने लक्ष्य राखेको छ। ट्रेलरमा नाजिरको रूपान्तरण र अभिनयको प्रशंसा भइरहेको छ।

फिल्म नेपाल र हलिउडको सहकार्यमा निर्माण गरिएको हो। यसमा हलिउडकी संगीतकार लिजा जेरार्ड र संगीत संयोजक मार्सेलो दिआ फ्रान्सिसीको पनि संलग्नता रहेको छ। अमेरिकाको Buffalo Atlee कम्पनीले फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरिसकेको छ।

फिल्म समीक्षकहरूका अनुसार ट्रेलरले एक फरक धारको नेपाली फिल्मको संकेत दिएको छ। नेपाली समाजमा लैङ्गिक पहिचानका विषयहरू अझै पनि गोप्य र विवादित मानिने अवस्थामा ‘गुन्युचोलो’ले खुला बहसको ढोका खोल्ने अपेक्षा गरिएको छ। फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा यसले अझ ठूलो चर्चा पाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?