जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

किन आमिर खानले आफ्नो पुरानो घर छाडे ?

काठमाडौँ – बलिउड अभिनेता आमिर खानले आफ्नो पाली हिलस्थित आलिशान घर छाडेर केही समयका लागि मुम्बईको बान्द्रा वेस्ट क्षेत्रलाई नयाँ ठेगाना बनाएका छन्। उनले एकै भवनका चारवटा लक्जरी अपार्टमेन्ट भाडामा लिएका छन्, जसको मासिक भाडा २४ लाख ५० हजार रुपैयाँ रहेको छ।

रिर्पोटका अनुसार आमिर खानको पुरानो निवास रहेको Virgo हाउजिङ सोसाइटीमा अहिले उच्च-प्रोफाइल पुनर्विकासको काम भइरहेको छ। पुनर्निर्माण सम्पन्न नभएसम्म उनले अस्थायी रूपमा बान्द्रामा बस्ने निर्णय लिएका हुन्।

सम्पत्ति दर्ता कागजातअनुसार, आमिर खानले मे २०२५ देखि मे २०३० सम्मको पाँच वर्षे भाडा सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा ४५ महिनाको लक-इन अवधि उल्लेख गरिएको छ।

सम्झौताअनुसार उनले १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको सुरक्षा निक्षेप, ४ लाख रुपैयाँको स्ट्याम्प शुल्क र २ हजार रुपैयाँ दर्ता शुल्क बुझाएका छन्। भाडा हरेक वर्ष ५ प्रतिशतले बढ्ने उल्लेख छ।

Virgo हाउजिङ सोसाइटी पुनर्विकास अन्तर्गत नयाँ कन्या कम्प्लेक्सको निर्माण भइरहेको छ, जसमा समुद्री दृश्यसहितका अत्याधुनिक सुविधाहरू रहनेछन्। निर्माणाधीन भवनको मूल्य प्रति वर्गफुट १ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ भने केही एकाइको मूल्य १०० करोड रुपैयाँभन्दा बढी पुग्ने बताइएको छ।

हाल आमिर खानको अस्थायी बासस्थान बान्द्राको ‘Vilnomona’ भवनमा रहेको छ, जुन पूजा कासाबाट मात्र ७५० मिटर टाढा पर्छ। यस क्षेत्रमै अभिनेता शाहरुख खान पनि आफ्नो बंगला मन्नतको मर्मत कार्य जारी रहेकाले परिवारसहित बसोबास गरिरहेका छन्।

फिल्म ‘सितारे जमीन पर’ मार्फत अभिनयमा पुनरागमन गरेका आमिर खानको यो फिल्मले विश्वव्यापी रूपमा ३०० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। हाल उनी दादासाहेब फाल्केको जीवनमा आधारित राजकुमार हिरानी निर्देशित बायोपिकमा मुख्य भूमिकामा काम गरिरहेका छन्। साथै, उनी सनी देओल अभिनीत फिल्म ‘लाहोर १९४७’ को निर्माता पनि हुन्।

आमिर खान रजनीकान्तको मुख्य भूमिका रहेको आगामी फिल्म ‘कुली’ मा केमियो भूमिकामा देखिनेछन्। हालै सार्वजनिक ट्रेलरमा उनी पूर्ण एक्सन अवतारमा प्रस्तुत भएका छन्।

फिल्ममा नागार्जुन अक्किनेनी, उपेन्द्र राव, सत्यराज, सौबिन शाहीर र रचिता रामजस्ता कलाकारको पनि सहभागिता रहेको छ।उक्त फिल्म सन् २०२५ अगस्ट १४ मा प्रदर्शनमा आउने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?