जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रक्षा बन्धन विशेष: भगवानलाई राखी बाँध्ने चलन, किन गणेश र हनुमानलाई पहिलो राखी ?

काठमाडौँ – यस वर्ष रक्षा बन्धनको पर्व साउन शुक्ल पूर्णिमाका दिन, साउन २४ गते जनै पुर्णिमा तथा रक्षाबन्धन मनाइदैछ। रक्षा बन्धन हिन्दू धर्ममा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै राखी बाँध्ने पवित्र पर्व हो। तर के तपाईंलाई थाहा छ रक्षा बन्धनमा पहिलो राखी भगवानलाई बाँध्ने परम्परा पनि छ ?

पहिलो राखी भगवान गणेशलाई बाँध्नुपर्छ

शास्त्रका अनुसार, रक्षा बन्धनमा सबैभन्दा पहिले भगवान गणेशलाई राखी बाँध्नुपर्छ। हिन्दू धर्मअनुसार, हरेक शुभ कार्य भगवान गणेशको पूजा गरेर सुरु गरिन्छ। उनी बाधा हटाउने देवता मानिन्छन्। यस कारण, रक्षा बन्धनको दिन पनि भगवान गणेशलाई राखी बाँध्नाले परिवारमा सुख, शान्ति र समृद्धि आउँछ।

शनिबार परेको रक्षा बन्धनमा हनुमानलाई पनि राखी

यसबर्ष रक्षा बन्धन शनिबार परेको छ। शनिबारको दिन विशेष गरी भगवान हनुमानको पूजा गरिन्छ। शास्त्रका अनुसार, भगवान हनुमानको भक्तिले शनि दोष हट्छ र साहस, बल, बुद्धि मिल्छ। यस्तोमा महिलाहरूले भगवान हनुमानलाई पनि रातो रङको राखी वा रक्षासूत्र बाँध्न सक्छन्।

राखी कसरी बाँध्ने ?

रक्षा बन्धनको दिन बिहान स्नान गरेर स्वच्छ लुगा लगाउने र पूजा कोठा सफा गरी, पूजाका सामग्री — फूल, अक्षता, धूप, दीप, गुड, चना, चन्दन, सिन्दूर आदि चढाइन्छ। त्यसपछि भगवान गणेश र हनुमानलाई राखी बाँधेर रक्षाका लागि प्रार्थना गरिन्छ। चाहनु भएमा, आफ्ना इष्टदेव वा देवीलाई पनि राखी चढाउन सकिन्छ।

रक्षा बन्धनको शुभ समय

ज्योतिष गणनाअनुसार, रक्षा बन्धनका लागि राखी बाँध्ने शुभ मुहूर्त बिहान ५:४७ देखि दिउँसो १:२४ बजेसम्म रहेको छ। यस अवधिमा राखी बाँध्नाले विशेष फलदायी हुने विश्वास गरिन्छ।

रक्षा बन्धन केवल दाजुभाइको पर्व मात्र नभई आध्यात्मिक भावनासँग पनि जोडिएको छ। भगवानलाई राखी बाँधेर सुरक्षाको कामना गर्नु परम्परागत आस्था हो, जसले संस्कार र भावनात्मक सम्बन्ध अझ बलियो बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?