जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

५६ दिनमै सकियो ‘परिवर्तन’ फिल्मको छायांकन

काठमाडौँ-सुशील श्रेष्ठ र अञ्जना बराइलीको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘परिवर्तन’ को छायांकन सम्पन्न भएको छ। गीतहरूबाहेक फिल्मका सम्पूर्ण दृश्यहरू ५६ दिनको अवधिमा खिचिएको निर्माता दीपक सिवाकोटीले जानकारी दिएका छन्।

उनका अनुसार अब फिल्ममा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायांकन बाँकी छ। छायांकन सम्पन्न भएपछि निर्माण टिमले छिट्टै पोस्ट–प्रोडक्सनको काम सुरु गर्ने जनाएको छ।

चलचित्रको छायांकन झापा र आसपासका विभिन्न स्थानहरूमा गरिएको हो। बुद्धशान्ति गाउँपालिका, कचनकवल, भद्रपुर, अर्जुनधारा, कन्काईमाई, बिर्तामोड, मेचीनगर जस्ता स्थानहरूका साथै विराटनगरमा पनि छायांकन गरिएको बताइएको छ।

विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशील र अञ्जनासँगै गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी र यमनाथ खरेलको समेत अभिनय रहेको छ।

अभिनेता सुशील श्रेष्ठको एक्सन अवतार यसअघि सार्वजनिक भइसकेको छ। एक्सन हिरोको रूपमा परिचित श्रेष्ठको कारणले पनि फिल्मप्रति दर्शकको प्रतीक्षा उच्च देखिएको छ।

‘दिब्यासी फिल्म्स प्रा.लि.’ को ब्यानरमा निर्माण भएको ‘परिवर्तन’ ले नेपालको सीमा सुरक्षा, भ्रष्टाचारको चक्रव्यूह, साथै गरिब र असहाय जनताको पीडालाई मुख्य कथावस्तु बनाएको छ।

फिल्मको मूल कथा स्वयं निर्माता दीपक सिवाकोटीले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्।

वि.सं. २०२८ मा निर्देशक हिरा सिंह खत्रीको निर्देशनमा यस्तै नामको ‘परिवर्तन’ चलचित्र निर्माण भएको थियो। झन्डै पाँच दशकपछि अब नयाँ कथावस्तु र सन्देश बोकेर ‘परिवर्तन’ पुनः दर्शकमाझ आउन लागेको हो।

निर्माण टिमले यो फिल्म यसै वर्ष प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ। गीतहरूको छायांकन सकिएलगत्तै सम्पादनको काम सुरु गरिने निर्माता सिवाकोटीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?