जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मनोज बाजपेयीको नयाँ क्राइम थ्रिलर ‘इन्स्पेक्टर जेन्डे’ सेप्टेम्बर ५ मा नेटफ्लिक्समा रिलिज हुने

काठमाडौँ – बलिउड अभिनेता मनोज बाजपेयी फेरि एकपटक ओटीटीमा सशक्त भूमिकासँग फर्किन लागेका छन्। उनी मुख्य भूमिकामा रहेको क्राइम थ्रिलर शृङ्खला ‘इन्स्पेक्टर जेन्डे’ आगामी सेप्टेम्बर ५, २०२५ मा नेटफ्लिक्समा रिलिज हुने भएको छ। नेटफ्लिक्सले सामाजिक सञ्जालमार्फत शोको पहिलो पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो।

यस शृङ्खलामा मनोज बाजपेयीसँगै जिम सर्भ पनि प्रमुख भूमिकामा देखिनेछन्। बाजपेयीले अपराध अनुसन्धानमा समर्पित इन्स्पेक्टर मधुकर जेन्डे को भूमिका निभाएका छन् भने जिम सर्भले ‘स्विमसूट किलर’ नामले चिनिने कार्ल भोजराज को पात्र निर्वाह गरेका छन्।

‘इन्स्पेक्टर जेन्डे’ शृङ्खला चिन्मय डी. मन्डलेकर द्वारा निर्देशित तथा जय शेवाक्रमणी र ओम राउत द्वारा निर्मित हो।
शृङ्खलामा भालचन्द कदम, सचिन खेडेकर, गिरिजा ओक र हरिश दुधडे पनि महत्वपूर्ण भूमिकामा छन्।

नेटफ्लिक्सले पोस्टर सार्वजनिक गर्दै लेखेको छ, “चोर-पुलिसको खेल अब सुरु हुनेछ। इन्स्पेक्टर जेन्डे अब ड्युटीमा आउँदैछन्।” पोस्टर सार्वजनिक भएलगत्तै दर्शकले शोप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन्। एक फ्यानले लेखे, “जिम सर्भ सधैं यस्ता भूमिका निभाउन उपयुक्त छन्,” भने अर्काले लेखे, “मनोज बाजपेयीलाई यस्तो भूमिकामा हेर्न प्रतिक्षा गरिरहेको छु।”

मनोज बाजपेयी पछिल्लो पटक ‘डिस्प्याच’ मा देखिएका थिए र अब चाँडै ‘द फेमिली म्यान’ को तेस्रो सिजनमा फर्कन लागेका छन्। यस सिजनमा जयदीप अहलावत पनि देखिनेछन्।

जिम सर्भ हालै धनुष अभिनीत ‘कुबेर’ फिल्ममा देखिएका थिए। IMDb का अनुसार, उनी अब ‘मेड इन इन्डिया – अ टाइटन स्टोरी’ नामक प्रोजेक्टमा देखिन लागेका छन्।

‘इन्स्पेक्टर जेन्डे’ नेटफ्लिक्समा सेप्टेम्बर ५ बाट स्ट्रीमिङ हुनेछ। बलियो कथा, उत्कृष्ट अभिनय र क्राइम थ्रिलरको मजा लिन चाहने दर्शकका लागि यो बहुप्रतीक्षित शृङ्खला बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?