नेपालले अन्तिम मिनेटमा गोल गर्दै साउदी अरेबियामाथि संघर्षपूर्ण जित हात पार्‍याे

काठमाडौँ – भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

निर्धारित समय सकिन लाग्दा खेलको ९०औं मिनेटमा शुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई महत्त्वपूर्ण तीन अंक दिलाइन्। मियाँले मिना देउवाको उत्कृष्ट पासमा ट्याप इन गोल गर्दै टोलीको विजय सुनिश्चित गरेकी हुन्।

खेलको पहिलो हाफमै नेपालले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो। ३७औं मिनेटमा मिना देउवाले लिएको पेनाल्टी बल क्रसबारमा ठोक्किँदै फर्किएपछि नेपाली समर्थकमा निराशा देखिएको थियो।

साउदी अरेबियाले पनि केही मौका सिर्जना गरे तापनि नेपाली डिफेन्स र गोलकिपरले राम्रो सम्हाल्दै विपक्षीलाई गोल रहित राखे।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक भुटानसँग १–१ को बराबरी खेलेको थियो। साउदीले भने उत्तर कोरियासँग १५–० को भारी हार ब्यहोरेको थियो।

नेपालले अब समूह चरणको अन्तिम खेल आइतबार बलियो टोली उत्तर कोरियासँग खेल्नेछ, जसमा जित वा बराबरीले पनि छनोट समीकरणमा प्रभाव पार्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?