क्वाँटी : कसरी, कति र किन खाने ? जान्नैपर्ने महत्वपूर्ण कुरा

काठमाडौँ- आज जनै पूर्णिमा, र यो दिनको मुख्य आकर्षण हो—क्वाँटी। नेपाली संस्कृतिमा हरेक पर्वसँग विशेष परिकारको सम्बन्ध जोडिएको हुन्छ—तिहारमा सेलरोटी, दशैंमा मासु, माघे संक्रान्तिमा कन्दमूल, असार १५ मा दही-चिउरा, र जनै पूर्णिमामा क्वाँटी।

पहिलो नजरमा यो परम्परा केवल संस्कार पालन मात्र जस्तो लागे पनि, हाम्रा पुर्खाले यसलाई सामाजिक, सांस्कृतिक र वैज्ञानिक कारणका आधारमा जगेर्ना गरेका हुन्।

क्वाँटी के हो ?
क्वाँटी विभिन्न गेडागुडी मिसाएर पकाइएको झोलिलो परिकार हो। सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुगी र दाल लगायतका नौ प्रकारका गेडागुडी भिजाएर टुसा उमारेपछि पकाइन्छ। अंकुरित गेडागुडीमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ, जसले शरीरलाई आवश्यक पोषण दिन्छ।

जनै पूर्णिमामा नै किन ?
परम्परागत कृषि समाजमा यो समय किसान खेतीपातीको कामले थकित हुन्छन्। शारीरिक श्रमपछि मांसपेशीको मर्मत, ऊर्जा पूर्ति र रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिनयुक्त आहार आवश्यक पर्छ। क्वाँटीले यिनै आवश्यकताहरू पूरा गर्छ। साथै, चिसो मौसम सुरु हुन लागेकाले यो तातो, पौष्टिक झोल शरीरलाई तातो राख्न पनि सहयोगी हुन्छ।

स्वास्थ्य लाभ

  • पोषणविद्का अनुसार क्वाँटी प्रोटिनको सम्पूर्ण स्रोत हो।
  • तत्काल ऊर्जा दिन्छ
  • मांसपेशीको मर्मतमा मद्दत पुर्‍याउँछ
  • रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
  • रक्तसंचार र स्नायु प्रणाली सुधार गर्छ
  • कब्जियत घटाउँछ
  • मधुमेह र पायल्समा फाइदाजनक

सावधानी
क्वाँटीलाई ज्वानो हालेर पकाउने चलन छ र यो स्वादिलो परिकार हो। तर, धेरै मात्रामा खानु हुँदैन। अत्यधिक प्रोटिनले युरिक एसिड बढाएर मिर्गौलामा असर पुर्‍याउन सक्छ। त्यसैले नियन्त्रित मात्रामा सेवन गर्नु स्वास्थ्यका लागि उत्तम हुन्छ।

यो मात्र संस्कार होइन, हाम्रो जीवनशैली र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको पोषक परम्परा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?