जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालको पोस्टमा उत्तर कोरियाको ११ गोल, एएफसी यू–२० छनोटबाट बाहिरियो नेपाल

काठमाडौँ – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै नेपाललाई हरायो।

तीनै खेल जित्दै उत्तर कोरियाले ९ अंक जोड्दै समूह विजेता बन्दै आगामी वर्ष थाइल्याण्डमा हुने प्रतियोगिताको अन्तिम चरणमा स्थान बनाएको छ। उत्तर कोरिया छनोटमा अपराजित रहँदै कुल ३६ गोल गर्‍यो भने एकपटक पनि गोल खानु परेन।

नेपालका लागि यो छनोट चरणको पहिलो हार भए पनि यही हारले प्रतियोगिताबाट बाहिरिने स्थिति बनाएको हो। नेपालले तीन खेलबाट १ जित, १ बराबरी र १ हारसहित जम्मा ४ अंक जोड्यो।

यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित निकालेको थियो। तर, अन्तिम खेलमा पराजयसँगै उत्कृष्ट दोस्रो टिम बन्ने सम्भावना पनि समाप्त भएको छ। अन्य समूहमा दोस्रो हुने टोलीहरूले ६ अंक जोडेका छन्।

छनोट चरणबाट ८ समूह विजेता र उत्कृष्ट ३ उपविजेता मात्रै एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा पुग्ने व्यवस्था छ।

नेपालको टोलीले उत्तर कोरियासँग बराबरी खेल्दै छनोट चरण पार गर्ने लक्ष्य राखेको थियो, तर बलियो प्रतिस्पर्धीसामु त्यो सम्भावना पुरा हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?