स्मार्टफोनको लत: युवा पुस्ता नोमोफोबियाको जोखिममा

काठमाडौँ – मोबाइल फोन अहिलेको जीवनशैलीको अभिन्न हिस्सा बनिसकेको छ। तर, मोबाइलको अत्यधिक निर्भरता कहिलेकाहीँ मानसिक स्वास्थ्यका लागि गम्भीर समस्या पनि बन्न सक्छ।

यस्तै एउटा समस्या हो – नोमोफोबिया (Nomophobia)। नोमोफोबिया भन्नाले “नो मोबाइल फोन फोबिया” अर्थात् मोबाइल नहुँदा वा त्यसबाट टाढिँदा हुने अत्यधिक डर वा बेचैनीलाई जनाइन्छ।

के हो नोमोफोबिया ?
नोमोफोबिया भनेको कुनै औपचारिक मानसिक रोगको सूचीमा नरहे पनि आधुनिक डिजिटल युगमा बढ्दो मनोवैज्ञानिक समस्या मानिन्छ। यसमा पीडित व्यक्तिले मोबाइल फोन हरायो, नेटवर्क गुम्यो, ब्याट्री सकियो वा मोबाइलबाट टाढा रहनुपर्‍यो भने अत्यधिक तनाव, डर, चिढचिढोपन र बेचैनी अनुभव गर्छन्।

लक्षणहरू के-के छन् ?
मोबाइल नहुँदा घबराहट, टेन्सन वा चिच्याउने व्यवहार

बारम्बार मोबाइल चेक गर्ने बानी

निद्रामा समस्या

एक्लोपन वा सामाजिक सम्पर्कमा कमी

मोबाइल बिना केही पनि गर्न नसक्ने अवस्था

को जोखिममा पर्छ ?
विशेष गरी किशोर–किशोरी, युवा वर्ग तथा सामाजिक सञ्जालमा अत्यधिक समय बिताउने व्यक्तिहरू यस फोबियाको उच्च जोखिममा पर्छन्। लामो समय मोबाइलमा बिताउने बानीले उनीहरूको ध्यान क्षमता घट्ने, काममा फोकस गर्न नसक्ने, सामाजिक सम्बन्धमा दूरी बढ्ने समस्या देखा पर्न सक्छ।

समाधान के हो ?
मोबाइल प्रयोगमा समय सीमा तोक्ने

सोशल मिडियाबाट केही समय टाढा रहने (डिजिटल डिटक्स)

सामाजिक भेटघाट र प्रत्यक्ष संवादमा जोड दिने

मानसिक स्वास्थ्य विशेषज्ञ वा काउन्सिलरको सहयोग लिने

प्रविधिको प्रयोग आवश्यक भए पनि अत्यधिक निर्भरता मानसिक र सामाजिक दुवै पक्षमा नकारात्मक असर पुर्‍याउन सक्छ। नोमोफोबिया समयमै चिन्न र सचेत हुन सकेमा यसबाट बच्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?