जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

देशभर ९४ प्रतिशत रोपाइँ सम्पन्न, गत वर्षको तुलनामा कमी

काठमाडौँ – देशभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशत रोपाइँ भइसकेको थियो। मनसुन ढिलो सक्रिय भएकाले यस वर्ष रोपाइँमा केही ढिलाइ भएको कृषि विभागले जनाएको छ।

कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। तर, मनसुनको प्रभाव ढिलो देखिएपछि मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत मात्र रोपाइँ भएको छ।

अन्य प्रदेशहरूमा पनि प्रगतिका दर फरक–फरक देखिएको छ। विभागका अनुसार हालसम्म कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत धान रोपिएको छ।

देशभर झण्डै १३ लाख हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। कुल खेतीयोग्य जमिन १४ लाख हेक्टर रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। भदौको दोस्रो सातासम्म थप केही क्षेत्रफलमा रोपाइँ बढ्ने अनुमान गरिएको छ।

धान उत्पादनका हिसाबले तराई क्षेत्र सबैभन्दा उपयुक्त मानिन्छ। यहाँबाट कुल उत्पादनको ७० प्रतिशत धान प्राप्त हुने गरेको छ भने बाँकी ३० प्रतिशत पहाडी क्षेत्रबाट उत्पादन हुन्छ।

गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकमा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष भने लक्ष्यअनुसार ६० लाख मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको भए पनि रोपाइँमा आएको ढिलाइका कारण उत्पादन घट्ने सम्भावना प्रवल रहेको मन्त्रालयले जनाएको छ। अनुमानित धान उत्पादनबाट झण्डै ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?