जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले तोड्यो हारको शृङ्खला, नन्दनको पाँच विकेटले जित दिलायो

काठमाडौँ – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले पहिलो पटक विजय हासिल गर्दै लगातार तीन हारको शृङ्खला अन्त्य गरेको छ। प्रतियोगिताको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रनको प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो। जवाफमा ब्याटिङ गरेको होबार्ट टिम १६.१ ओभरमा ११४ रनमा समेटिएको थियो।

नेपालको विजयमा युवा बलर नन्दन यादवको उत्कृष्ट बलिङ निर्णायक सावित भयो। उनले ३ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ५ विकेट हात पारे। कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए।

होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रनको योगदान गरे। जेन कर्टेन २० रनमा नटआउट रहे। अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि आरिफ शेखले ३३, आसिफ शेखले २९ र कुशल भुर्तेलले २७ रनको योगदान गरे। लोकेश बमले ११ बलमा २५ रन अविजित बनाए। नेपालले अतिरिक्त रूपमा ३२ रन पनि प्राप्त गरेको थियो।

होबार्टका बलर निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए भने राफ माकमिलनले पनि २ विकेट लिए। मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले समान एक–एक विकेट लिए।

नेपालले यसअघि लगातार तीन खेलमा पराजय भोगेको थियो। पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रोमा बंगलादेश ए टिमसँग र तेस्रोमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो।

अब नेपालले आगामी खेलमा भोलि मेलबर्न रेनेगेड्स र आगामी शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो जितले टोलीको मनोबल उच्च बनाएको छ र आगामी खेलहरूमा पनि सकारात्मक नतिजाको अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?