शरीरमा प्रोटिनको कमीका ५ संकेत देखा परे के गर्ने ?

काठमाडौँ – आधुनिक जीवनशैलीका कारण धेरै मानिस आफ्नो खानपानप्रति बेखबर भइरहेका छन्। यस्तै लापरवाहीका कारण शरीरमा प्रोटिनको कमी देखिन थालेको चिकित्सकहरू बताउँछन्।

उनीहरूका अनुसार प्रोटिन शरीरको आवश्यक तत्व हो र यसको कमीले शारीरिक तथा मानसिक दुवै स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार एक स्वस्थ वयस्क महिलाले दैनिक करिब ४६ ग्राम र पुरुषले ५६ ग्राम प्रोटिन सेवन गर्नुपर्ने हुन्छ। तर हाल भैरहेका स्वास्थ्य परीक्षणहरूमा धेरै व्यक्तिहरूमा प्रोटिनको कमी देखिएको भन्दै सचेत रहन आग्रह गरिएको छ।

विशेषज्ञहरूका अनुसार शरीरमा प्रोटिनको कमी हुँदा निम्न पाँच लक्षणहरू देखिन सक्छन्:

१. शरीर सुन्निनु (Edema):

प्रोटिनको कमीले रगतमा तरल पदार्थको सन्तुलन बिगार्ने भएकाले हात, खुट्टा वा पेट वरिपरि सुन्निने समस्या देखा पर्न सक्छ। यो प्रारम्भिक र प्रमुख संकेत मानिन्छ।

२. मानसिक समस्या देखा पर्नु:

प्रोटिनमा पाइने एमिनो एसिडहरूले मस्तिष्कमा रसायनिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउँछ। यसको कमी हुँदा मानिस चिडचिडो, तनावग्रस्त र भावनात्मक रूपमा असन्तुलित हुन सक्छ।

३. अत्यधिक थकान महसुस हुनु:

पर्याप्त निद्रा पूरा भए पनि निरन्तर थकान, कमजोरी र मानसिक थकानको अनुभूति हुनु प्रोटिनको कमीको लक्षण हो। यसले कार्यक्षमता र एकाग्रता दुवैमा असर पुर्‍याउँछ।

४. कपाल झर्नु, छाला सुख्खा हुनु, नङ भाँचिनु:

शरीरमा केराटिन र कोलाजेनको मात्रा घट्दा कपाल, छाला र नङको स्वास्थ्यमा असर पुग्छ। कपाल झर्ने, नङ चिरिने र छाला सुख्खा हुने समस्या देखिन्छ।

५. बारम्बार भोक लाग्नु:

प्रोटिनले लामो समयसम्म पेट भरिएको महसुस गराउने भएकाले यसको कमी हुँदा बारम्बार भोक लाग्ने र आवश्यकता भन्दा बढी खाने प्रवृत्ति देखिन्छ।

स्वास्थ्य क्षेत्रका विज्ञहरू भन्छन्, “यी लक्षणहरू देखिएमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गरी आवश्यक परीक्षण गराउनु अत्यावश्यक छ।” साथै, उनीहरूले नियमित रूपमा प्रोटिनयुक्त आहार (जस्तै अण्डा, दूध, दाल, मासु, गेडागुडी आदि) सेवन गर्न सुझाव दिएका छन्।

सन्तुलित आहार र नियमित स्वास्थ्य परीक्षणले यस्तो कमीलाई समयमै नियन्त्रण गर्न सकिने चिकित्सकहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?