जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै, बालबालिका सबैभन्दा प्रभावित

नेपालगञ्ज – मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन् । भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । केही दिनयता समय समयमा भइरहेको वर्षा र गर्मीका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा संकेतकुमार रिसालले उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, झाडा पखालाका लक्षण देखिएका बिरामी अहिले अस्पतालमा बढी आउने गरेको जानकारी दिए । तीमध्ये बालबालिकाको संख्या धेरै भएको उनले बताए । भेरी अस्पतालमा मात्र दैनिक २०० देखि ३०० सम्म भाइरल फ्लुका बिरामी उपचारका लागि पुग्ने गरेको डा रिसालको भनाइ छ ।

नेपालगञ्जस्थित सन्जीवनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोमन किदवाईले शिक्षण अस्पतालमा पनि भाइरल फ्लुका बिरामी आउने क्रम अहिले बढेको बताए । उनले त्यस्ता बिरामीमा बालबालिका र वृद्धवृद्धाको संख्या धेरै हुने गरेको बताए ।

नेपालगञ्जका वरिष्ठ फिजिसियन प्रकाश नागले पनि मौसमका कारण भाइरलको सङ्क्रमण बढेको जनाउँदै उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्या देखापरिरहेको बताए ।

नेपालगञ्ज र कोहलपुरका निजी क्लिनिकमा पनि केही दिनयता भाइरल ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामी आउने क्रम बढेको चिकित्सकहरुले जनाएका छन् । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा उचित ध्यान नपु¥याउँदा भाइरल फ्लुका बिरामी बढेको चिकित्सकहरुको भनाइ छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा शकिल अहमदले मौसमको सबैभन्दा बढी प्रभाव बालबालिकामा पर्ने हुँदा अहिले बालबालिका धेरै भारइल फ्लुबाट पीडित रहेको बताए । उनले अहिले आफ्ना क्लिनिकमा आउने सबै बालबालिका भाइरल ज्वरो र रुघाखोकीबाट पीडित भएर आउने रहेको जनाउँदै सचेत रहन अभिभावकसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?