जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को थिम गीत सार्वजनिक

काठमाडौँ – समुन्द्र भट्ट निर्देशित नेपाली चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को थिम गीत सार्वजनिक गरिएको छ। गीतमा लेखु सहयात्रीको रचना, समुन्द्र भट्ट र रेखा पन्तको शब्द तथा केतन क्षेत्रको स्वर रहेको छ।

यो गीतले समाजमा अझै पनि विद्यमान लैङ्गिक पहिचानका आधारमा हुने भेदभाव, खासगरी तेस्रोलिंगी समुदायप्रतिको उपेक्षा र अन्यायलाई भावुक रूपमा उजागर गरेको छ।

गीतका शब्दहरूले तेस्रोलिंगीलाई मानवीय सम्मान नदिने, फरक ग्रहबाट आएको जस्तो हेर्ने समाजको कठोर व्यवहारलाई चित्रण गरेका छन्। एउटै आमाको कोखबाट जन्मिए पनि तेस्रोलिंगी सन्तान हुँदा कसरी फरक व्यवहार र भेदभावको सामना गर्नुपर्ने हुन्छ भन्ने पीडा गीतमा समेटिएको छ। यसले तेस्रोलिंगीले मानवताको लागि गरेको संघर्षलाई उजागर गर्दै समान अधिकारको माग गरेको छ।

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आगामी भदौ १३ गते प्रदर्शनमा आउनेछ। यो चलचित्रमा नाजिर हुसेनले पारालैङ्गिक महिला (ट्रान्सवुमन) को भूमिका निभाएका छन्। त्यस्तै, सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि अभिनय गरेका छन्।

नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको यो फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनले लगानी गरेका छन्।

चलचित्रका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता रहेका छन्। ‘गुन्यु चोलो : द ड्रेस’ नेपाली समाजमा अझै जारी रहेको लैङ्गिक भेदभाव र पूर्वाग्रहलाई चुनौती दिने महत्वपूर्ण प्रयासको रुपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?