जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुदूरपश्चिममा गौराको रौनक: आज ‘नानी गौरा’ मनाइँदै

बैतडी- सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ। गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदै छ। बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो अर्थात बिहीबार पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए।

आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ। साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ। बिरुडाले नै गौरादेवीको पूजाआजाका गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन छ।

पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ।

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो। भोलि शानिबार तेस्रो दिन सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। भोलि नै महिलाहरूले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन गौराष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ।

तागाधारी पुरुषहरूले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरूले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्। शुक्ल पक्षमा परेको गौरालाई उजेली र कृष्णपक्षमा परेको गौरालाई अँधेरी भन्ने चलन रहिआएको छ। यो वर्ष उजेली गौरा परेको छ। गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैतलगायत देउडा पनि खेलेर रमाइलो गर्ने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?