‘शिवांश’ कात्तिक २७ गते प्रदर्शनमा आउने

काठमाडौँ – फिल्म ‘शिवांश’ आगामी कात्तिक २७ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। कैलाश पर्वतको पृष्ठभूमिमा शिव र उनका वाहन नन्दी (साँढे) को उपस्थिति झल्काउने पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरिएको हो।

सार्वजनिक पोस्टरमा जटाजुट बाँधेका शिव कैलाश पर्वततर्फ उक्लिँदै गरेको दृश्य देखिन्छ भने साँढेको निधारमा त्रिशूल अंकित छ, जसले फिल्मको आध्यात्मिक–दार्शनिक भावभूमिलाई संकेत गर्दछ।

पोखरामा छायांकन गरिएको फिल्मको हाल पोस्ट–प्रोडक्सनको काम तीव्र रूपमा भइरहेको छ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा बनेको यस चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका छन्। यो फिल्म उनको निर्देशकको रूपमा डेब्यु हो।

निर्माता अञ्जान केसी रहेको फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन्। साथै, विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सविर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ।

चलचित्रका सह–निर्माताहरूमा शोभा भण्डारी र अनिस केसी बोगटी छन् भने कार्यकारी निर्माता शम्भु थापा हुन्। पोस्ट–प्रोडक्सन कार्य ‘चलचित्र चौतारी’ले गरिरहेको छ भने डिजिटल सिनेमा नेपाल (DCN) फिल्मको वितरणको जिम्मेवारी लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?