जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०ः३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको गुठी संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले जानकारी दिए। यसअघि भदौ १५ गते ईन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको थियो ।

भाद्र शुक्ल अष्टमीका दिन भोटाहिटीबाट ईन्द्रजात्राको लिङ्गो वसन्तपुर दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि लगी राख्नुलाई नगर प्रवेश गराउनु भनिन्छ । भाद्र शुक्ल द्वितीयाको राति भक्तपुरस्थित चित्तपोल सामुदायिक वनमा काटिएको सल्लाको रुख त्यसको भोलिपल्ट घिसार्दै भोटाहिटीमा ल्याई राखिएको थियो ।

त्यही लिङ्गोलाई आज बाँस, डोरीलगायतको सहायताले उठाइएको अर्थात् ईन्द्रध्वजोत्थान गरिएको हो । ईन्द्रध्वज र पताकासहित तान्त्रिक विधिले ईन्द्रध्वजोत्थान गरिएको संस्थानका धार्मिक एवं सांस्कृतिक शाखा प्रमुख राजेन्द्र दाहालले बताए ।

भाद्र शुक्ल द्वादशीका अवसरमा आज ईन्द्रध्वजोत्थान गरेपछि भाद्र शुक्ल चतुर्दशी अर्थात् अनन्त चतुर्दशीका दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको यात्रा गराइन्छ । यो दिन ईन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने प्रचलनसमेत रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?