जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मुखका यी लक्षणले देखाउँछन् तपाईंको शरीरमा पोषणको गम्भीर कमी

काठमाडौँ – अनुहारको सौन्दर्य, छालाको चमक र कपालको अवस्थाप्रति ध्यान दिइए पनि अधिकांशले मुखभित्रका संकेतहरूलाई बेवास्ता गर्छन्। तर, विज्ञहरूका अनुसार मुख शरीरको ऐना हो, जसमा देखिने सानातिना परिवर्तनहरूले शरीरभित्रका पोषणसम्बन्धी कमीहरू प्रस्ट पार्छन्।

विशेषज्ञका अनुसार मुखमा देखिने लक्षणहरूले पोषणको अवस्था र कतिपय अवस्थामा गम्भीर रोगको सुरुवाती संकेत दिन सक्छ। यदि तपाईंको मुखमा तल उल्लेखित लक्षणहरू देखिन्छन् भने, त्यसलाई हल्का रूपमा लिनुहुँदैन।

१. ओठको कुनामा दरारहरू

बारम्बार ओठ फुट्ने वा कुनामा चिरा पर्ने समस्या भिटामिन B2, फलाम र जिंकको कमीका कारण हुन सक्छ। यस्ता लक्षण देखिएमा आवश्यक पोषक तत्वको सेवन बढाउन सुझाव दिइन्छ।

२. गिजाबाट रगत बग्नु

ब्रस गर्दा वा खाना खाँदा गिजाबाट रगत बग्नु सामान्य होइन। यो भिटामिन C को कमीको लक्षण हुन सक्छ। अमला, कागती, सुन्तला लगायतका साइट्रस फलहरू यसमा लाभदायी मानिन्छ।

३. मुखमा बारम्बार अल्सर

मुखभित्र बारम्बार घाउ (अल्सर) देखा पर्नु केवल तातो खानेकुराको असर मात्र होइन। यस्तो अवस्था भिटामिन B12 तथा फलामको कमीसँग सम्बन्धित हुन सक्छ। लगातार अल्सर पाचन प्रणालीमा समस्या भएको सङ्केत पनि हुनसक्छ।

४. जिब्रो वा मुखमा जलन

मुखभित्र वा जिब्रोमा जलन हुनु विशेषगरी महिलाहरूमा देखिने समस्या हो। यो समस्या प्रायः आइरनको कमी, रक्तअल्पता, तथा भिटामिन B-कम्प्लेक्सको कमीसँग सम्बन्धित हुन्छ।

५. क्याभिटी (दाँत कुहिनु)

दाँत कुहिने समस्यालाई धेरैले चिनीजन्य खाद्यपदार्थसँग मात्र जोड्छन्। तर, विशेषज्ञहरू भन्छन्, क्याभिटी क्याल्सियम र भिटामिन D को कमीले पनि हुनसक्छ। हड्डी र दाँत बलियो बनाउन दूध, दही र घामको पर्याप्त सेवन गर्नु जरूरी हुन्छ।

६. दाँत दुख्ने र कमजोरी

लगातार दाँत दुख्नु, दाँत कमजोर हुनु वा सजिलै भाँचिनु खनिज तत्वहरूको कमी (विशेष गरी क्याल्सियम, फस्फोरस र भिटामिन D) को सङ्केत हो। यसलाई बेवास्ता गर्नु भविष्यमा गम्भीर दन्त समस्याको कारण बन्न सक्छ।

स्वास्थ्य संकेतहरू केवल शरीरमा होइन, मुखभित्र पनि प्रकट हुन्छन्। त्यसैले, मुखको अवस्था पनि नियमित रूपमा जाँच गर्नु र सन्देह लाग्ने लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?