जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

घुँडाको कालोपन हटाउन घरेलु उपाय प्रभावकारी, रसायन नभई प्रकृतिबाट समाधान खोजौं

काठमाडौं । सौन्दर्यप्रेमीहरूका लागि छालाको चमक मात्र होइन, शरीरका सबै भागमा समान रंग र सफा देखिनु पनि आत्मविश्वासको विषय हुन्छ। यस्तैमा, घुँडा, कुहिना र घाँटीजस्ता भागको कालोपन धेरैका लागि पीडादायक समस्या बन्ने गरेको छ। विशेषतः घुँडाको कालोपनले धेरैलाई छोटा लुगा लगाउन असहज बनाउने गरेको छ।

यद्यपि बजारमा छालालाई गोरो बनाउने नाममा विभिन्न रासायनिक उत्पादनहरू उपलब्ध छन्, विशेषज्ञहरूका अनुसार यस्ता उत्पादनले तत्काल लाभ दिन सक्ने भए पनि दीर्घकालीन रूपमा छालामा नकारात्मक असर पार्न सक्छन्। त्यसैले छालाको हेरचाहमा प्राकृतिक र घरेलु उपायहरू अधिक सुरक्षित र प्रभावकारी मानिन्छन्।

घरेलु उपायहरू यस्ता छन्:

दही र बेसनको प्याक

दहीमा रहेको ल्याक्टिक एसिडले मृत छाला हटाउँछ भने बेसनले सफा गर्छ। दुई चम्चा बेसन र एकदेखि दुई चम्चा दही मिसाएर तयार गरिएको पेस्टलाई घुँडामा लगाई २० मिनेट राखेपछि मोल्ने र धुने गर्दा छालाको रंग सुधारमा मद्दत हुन्छ। यो प्रक्रिया हप्तामा २–३ पटक दोहोर्याउन सुझाव दिइन्छ।

बेकिंग सोडा र दूधको मिश्रण

एक चम्चा बेकिंग सोडा र थोरै दूध मिसाएर तयार गरिएको मिश्रण घुँडामा हल्का स्क्रब गर्न प्रयोग गर्न सकिन्छ। यो उपाय हप्तामा दुई पटक गर्नुपर्छ, बढी प्रयोगले छालालाई सुख्खा बनाउने खतरा रहन्छ।

कागती र महको मेल

कागतीमा भएको प्राकृतिक ब्लीचिङ गुण र महको मोइस्चराइजिङ क्षमताले कालोपन हटाउन सहयोग गर्छ। कागती रस र मह मिसाएर बनेको मिश्रण घुँडामा लगाएर १५–२० मिनेट राखेपछि धुनुपर्छ। यो उपाय हप्तामा तीन पटक प्रयोग गर्न सकिन्छ।

बेसार र दूधको प्रयोग

बेसार र काँचो दूध मिसाएर बनेको पेस्ट दैनिक रूपमा प्रयोग गर्न सकिने उपाय हो। यसको एन्टिसेप्टिक र छालामा चमक ल्याउने गुणले घुँडाको कालोपनमा बिस्तारै सुधार ल्याउने देखिएको छ।

नरिवल तेल र कागती

एक चम्चा नरिवलको तेलमा आधा कागती निचोएर बनेको मिश्रणले घुँडालाई दिनहुँ मालिस गर्न सकिन्छ। यसले छालालाई पोषण दिनुका साथै टोन हल्का बनाउने कार्य गर्छ।

छालाको संवेदनशीलता अनुसार सावधानी अपनाउन सुझाव

विशेषज्ञहरूका अनुसार यस्ता घरेलु उपाय प्रयोग गर्दा छालाको संवेदनशीलता अनुसार प्रतिक्रिया हुने भएकाले सुरुमा सानो क्षेत्रमा परीक्षण गर्नुपर्छ। यदि एलर्जी वा जलन हुने खालको प्रतिक्रिया देखिएमा तुरुन्तै प्रयोग बन्द गर्न सल्लाह दिइन्छ।

घरेलु उपायले समय लाग्न सक्छ तर दीर्घकालीन रूपमा सुरक्षित र असरदार हुने भएकाले नियमितता र धैर्य अपनाउनु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?