जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज महाअष्टमी, महागौरीको पूजा आराधना गरिँदै

काठमाडौं। आज असोज शुक्ल अष्टमी अर्थात् दशैंको आठौँ दिन। आजको दिनलाई नेपाली परम्पराअनुसार महाअष्टमी भन्ने चलन छ।

महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ।

साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्। अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन्।

देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ।

महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ। तान्त्रिक विधानअनुसार शस्त्रअस्त्र (हातहतियार)को पूजा गर्ने चलन पनि छ। नवरात्रका दिन नसक्नेले यो दिन दुर्गा सप्तशती पूरै पाठ गर्छन्।

दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?