जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिषेक–ऐश्वर्याले युट्युबविरुद्ध मुद्दा दायर गरे

काठमाडौँ– बलिउडका चर्चित कलाकार जोडी अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनले आफूहरूको एआईबाट सिर्जना गरिएका डीपफेक भिडियो लाई लिएर युट्युब र गुगल विरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन्।

भारतीय मिडियाका अनुसार जोडीले क्षतिपूर्तिका लागि करिब छ करोड ४० लाख रुपैयाँ माग गरेका छन्। जोडीले अदालतसँग सामाजिक सञ्जाल प्लेटफर्महरूमा आफ्नो व्यक्तित्व, अनुहार, आवाज र छविको अवैध तथा आपत्तिजनक प्रयोगमा स्थायी रूपमा रोक लगाउन निर्देशन जारी गर्न अपील गरेका छन्।

रोयटर्सको रिपोर्ट अनुसार, अभिषेक र ऐश्वर्याले सेप्टेम्बर ६ मा करिब १,५०० पृष्ठको याचिका अदालतमा पेश गरेका थिए। यस याचिकामा युट्युबमा फर्जी, भ्रामक र अपमानजनक तरिकाले उनीहरूको तस्बिर र आवाज प्रयोग गरिएका सयौँ भिडियोहरूको लिङ्क र स्क्रिनसट समावेश छन्।

याचिकाकर्ताहरूले यस्ता भिडियोहरूले आफ्नो प्रतिष्ठामा ठेस पुर्‍याउनुका साथै निजताको मौलिक अधिकारको पनि गम्भीर उल्लंघन गरिरहेको बताएका छन्।

दिल्ली उच्च अदालतले यस मामिलामा कडा कदम चाल्दै गुगललाई नोटिस जारी गर्दै लिखित जवाफ दाखिल गर्न आदेश दिएको छ। यस मुद्दाको अर्को सुनुवाइ जनवरी १५, २०२६ मा हुनेछ।

एआई भिडियोविरुद्ध जोडीले कानूनी कदम चालेको यो पहिलो पटक भने होइन। यसअघि अभिषेक बच्चनले सेप्टेम्बर १० मा दिल्ली उच्च अदालतमा याचिका दायर गर्दै अदालतबाट आफ्नो पब्लिसिटी र पर्सनैलिटी राइट्स (जनतामा छवि र व्यक्तित्व अधिकार) को सुरक्षा गर्न अनुरोध गरेका थिए।

उनले वेबसाइटहरू र अनलाइन प्लेटफर्महरूलाई आफ्नो तस्बिर, व्यक्तित्व र नकली भिडियोहरू, विशेषगरी यौनजन्य सामग्री को प्रयोग गर्नबाट रोक्न माग गरेका थिए।

त्यसअघिको दिन उनकी पत्नी ऐश्वर्या राय बच्चनले पनि यस्तै पर्सनैलिटी राइट्सको सुरक्षा का लागि दिल्ली उच्च अदालतमा याचिका दायर गरेकी थिइन्, र दुवैलाई अदालतबाट राहत मिलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?