दोस्रो अभ्यास खेलमा नेपाल कतारसँग १६ रनले विजयी

काठमाडौं। नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ।

सोमबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पन्छाएको थियो।

नेपालले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो।

कतारका मुहम्मद तनविरले सर्वाधिक ५१ रन बनाए। ३७ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। मोहम्मद ब्रइगले ४० र मुहम्मद असीमले ३० रनको योगदान दिए।

नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए। नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो।

त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सात विकेट गुमाउँदै १७० रन बनाएको थियो।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। ३३ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे।

कुशल मल्ल र दीपेन्द्रले समान ३८ रन बनाए। कतारका शारिक मुनिर र इक्रामुल्लाहले समान दुई विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?