जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बेलायतबाट ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’कवि जसराज किरातीलाई

काठमाडौं। नेपाली कविताको गाउँले सौन्दर्यलाई आधुनिक चेतनासँग जोड्ने कवि जसराज किराती यस वर्षको ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’बाट सम्मानित हुने भएका छन्।

नेपाली प्रतिभा प्रतिष्ठान,बेलायतले आइतबार जारी विज्ञप्तिमा किरातीको सिर्जनात्मक योगदानको उच्च मूल्यांकन गर्दै उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको हो।

प्रतिष्ठानका अध्यक्ष टंक वनेम र महासचिव चोक गुरुङद्वारा जारी विज्ञप्तिअनुसार,किरातीले नेपाली कवितामा ग्रामीण जीवन,भाषा र भावनालाई नयाँ स्वरूपमा प्रस्तुत गरेको योगदानको कदरस्वरूप सम्मान प्रदान गर्न लागिएको हो।

सम्मानअन्तर्गत उनलाई नगद एक लाख रुपैयाँ,ताम्रपत्र र दोसल्ला प्रदान गरिनेछ।

प्रतिष्ठानका अनुसार ‘विशिष्ट प्रतिभा सम्मान’ हरेक वर्ष नदिइ, साहित्य,कला वा सिर्जनामा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टालाई मात्र प्रदान गरिन्छ। यसअघि यो सम्मान महाकवि वैरागी काइँला (तिलविक्रम नेम्बाङ)ले प्राप्त गरिसकेका थिए।

यसै अवसरमा, प्रतिष्ठानले युवा पत्रकार तथा लेखक विजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार–२०२५’बाट सम्मानित गर्ने निर्णय पनि गरेको छ। प्रतिष्ठानले हरेक वर्ष भाषा, साहित्य, कला र संगीतमा सक्रिय नयाँ पुस्ताका स्रष्टालाई यस पुरस्कारमार्फत प्रोत्साहन गर्दै आएको छ।

सन् २००८ मा बेलायतमा स्थापना भएको नेपाली प्रतिभा प्रतिष्ठानले विगत दुई दशकदेखि नेपाली स्रष्टाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने काम गर्दै आएको छ।यसअघि प्रतिष्ठानले ईश्वर मानन्धर, अम्बर गुरुङ,गोपाल पराजुली, डा. कृष्णहरि बराल, गणेश रसिकलगायतका अग्रज स्रष्टालाई सम्मानित गरिसकेको छ।

त्यसैगरी ‘प्रतिभा पुरस्कार’ बाट श्रवण मुकारुङ,उपेन्द्र सुब्बा,मोमिला जोशी, फुलमान बललगायतका नयाँ पुस्ताका स्रष्टा पुरस्कृत भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?