जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्वास्थ्य

‘समयमै ख्याल गर्न सके मधुमेह हुनबाट जोगिन सकिन्छ’

मानव शरीरमा चिनीको मात्रा बढी भयो भने मधुमेह (सुगर) हुन्छ । यसलाई मेडिकलको भाषामा डाइबिटिज पनि भनिन्छ । रगतमा गुलियोपन बढी भयो भने मधुमेह हुन्छ ।

अस्तव्यस्त जीवनशैली, खानामा ख्याल नगर्दा, अनिद्रा, तनाव बढी लिने गर्दा मधुमेहको जोखिम हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करोडौँ मानिसहरु मधुमेह रोगबाट ग्रसित छन् ।

यो कस्तो खालको रोग हो, मधुमेह हुँदा स्वास्थ्यमा देखिने असरहरु के के हुन्? यसका रोकथामका उपायहरु के छन्? लगायतका विषयमा जोय नेपालका लागि विशेषज्ञ डा. डिना श्रेष्ठसँग सुस्मिता फुयाँलले गरेको कुराकानीः

मधुमेह (सुगर) कस्तो खालको रोग हो?

मानव शरीरमा सुगरको मात्रा पहिले नै हुन्छ । हाम्रो रगतमा यसको मात्रा बढी भयो भने मधुमेह भएको बुझिन्छ । खास गरेर यसलाई चार प्रकारमा वर्गीकरण गरिएको छ ।

पहिलो प्रकारको मधुमेहमा ग्लुकोजको मात्रा कम हुन्छ । यो समस्या खास गरेर बालबालिकामा देखिन्छ । हाम्रो शरीरले ग्लुकोज बनाउन नसकेर यो मधुमेह देखिन्छ । यसलाई ‘टाइप वान डाइबिटिज’ पनि भन्ने गरिन्छ ।

त्यस्तै अर्को हुन्छ, टाइप टु डाइबिटिज । सुगरका रोगीमध्ये नब्बे प्रतिशतमा यही देखिने गर्छ । यसको मुख्य कारण भनेको वंशानुगत र मोटोपनका कारणले हुने गर्छ । खास गरेर कुनै व्यक्ति ३५ वर्ष उमेर पार गरेपछि यो रोग लाग्न सक्छ । तनाव बढी लिने, व्यायाम नगर्ने, खाना बढी खाने गर्ने अधिकांशमा यो रोग देखिन्छ ।

त्यस्तै टाइप थ्री डाइबिटिज देखिनेमा प्रायः गर्भवती महिलाहरु पर्छन् । यो चाहिँ महिला गर्भवती भएको २४ देखि २८ हप्ता कटेपछि देखिन्छ । यसको पनि नियमित चेक गराइरहनु पर्छ ।

अर्को, टाइप फोर डाइबिटिज चाहिँ रक्सीको बढी सेवन गर्दा, अथवा अन्य औषधिको साइड इफेक्टले गर्दा, अरु कुनै रोगले गर्दा हुन सक्छ । यसलाई टाइप फोर डाइबिटिज भनिन्छ । यदि अन्य रोगहरुको औषधि सेवन गर्न छोडियो भने यो प्रकारको मधुमेह पनि निको हुन्छ ।

यो रोग लाग्ने मुख्य कारण के हो?

मधुमेह खास गरेर बढी तनाव लिने, मैदाबाट तयार पारिएको गुलियो तथा चिल्लो खाने कुरा बढी खाने, व्यायाम नगर्ने लगायतका कारणले हुने गर्छ । कतिपय अवस्थामा परिवारका अन्य सदस्यलाई छ भने पनि मधुमेह हुन सक्छ ।

मधुमेह हुँदा के कस्ता लक्षणहरु देखा पर्छन् ?

मधुमेह हुँदा मुख्यतया तीन लक्षण देखिन सक्छन् । यो रोगका बिरामीलाई बढी तिर्खा लाग्ने, धेरै भोक लाग्ने, पिसाब लाग्ने र कतिपयमा तौल घट्ने पनि हुन्छ । त्यो बाहेक शरीरमा लागेको चोटपटक समयमा निको नहुने, थकाइ लाग्ने लगायतका समस्या पनि देखा पर्छन् । केहीमा भने भिन्न खालका समस्या पनि देखा पर्छन् ।

यो रोग लागेपछि खानपान तथा जीवनशैली कस्तो अपनाउनुपर्छ?

यो रोगका बिरामी आठ घण्टा सुत्नुपर्छ । चिन्ता धेरै नगर्ने, व्यायाम र योग गर्ने गर्दा धेरै फरक पर्छ । यस्तै दैनिक एक घण्टा हिँड्ने गर्नुपर्छ भने मैदाबाट बनेको गुलियो, चिल्लो, तारेको, भुटेको खानेकुरा खानु हुँदैन । यस्तै खसीको मासु, चाउचाउ लगायत ड्राइ फुड पनि खानु हुँदैन । यस्तै नुनिलो खाने कुरा पनि धेरै खाने गर्नु हुँदैन ।

मधुमेहका बिरामीले भात खानु हुँदैन भन्ने सुनिन्छ, त्यस्तो हो?

यो पूर्णत गलत बुझाइ हो । त्यस्ता बिरामीले भात खानै नहुने भन्ने होइन । भात नखाने तर अरु खाने कुरा धेरै खाने भन्ने पनि हुँदैन । हरेक खाने कुरा मिलाएर खाने गर्नुपर्छ । सकभर सेतो चामल नखानुस् भन्ने हो । सकभर फाइबर भएको मार्सी चामल, ब्राउन राइस खाँदा स्वास्थ्यमा खासै असर पर्दैन ।

यस्ता रोग लागेका व्यक्तिमा दीर्घकालीन रुपमा कस्तो असर पर्छ?

मधुमेह भएका बिरामीलाई केही वर्षपछि मुटु, आँखा तथा मिर्गौलामा समस्या आउन सक्छ । पछि नशा झमझमाउने, नसा लाटो हुने, अनिद्रा, खुट्टा पोल्ने लगायतका समस्या देखिन सक्छ । यो बाहेक हृदयाघातको जोखिम पनि हुन सक्छ ।

कुन उमेर समूहका व्यक्तिहरुमा यो समस्या बढी हुन्छ त?

टाइप वान डाइबिटिज पाँचदेखि आठ बर्ष उमेरका बच्चाहरुलाई हुने गर्दछ । यस्तै टाइप टु डाइबिटिज ३० देखि ३५ वर्ष उमेर समूहका व्यक्तिमा देखिन सक्छ । टाइप थ्री डाइबिटिज भनेको चौबिस हप्ता देखि २८ हप्तासम्मका गर्भवती महिलालाई लाग्ने गर्दछ र टाइप फोर डाइबिटिज कुनै उमेर समूहलाई हुन्छ भन्ने हुँदैन । जुनसुकै उमेर समूहका व्यक्तिहरुमा पनि देखिन सक्छ ।

अन्त्यमा मधुमेहका बिरामीलाई के सुझाव दिन चाहनुहुन्छ ?

मधुमेह भैसकेका बिरामीहरु सकेसम्म खान नहुने चिजलाई खाँदै नखानुस् । एकपटक खाँदा के होला र भन्ने हिसाबले नखानुस् । धेरै गुलियो तथा चिल्लो खाने कुरा नखानुस् । राम्रो जीवनशैली अपनाउनुस् । बेलाबेलामा स्वास्थ्य जाँच गराइरहनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?