जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

संगीतमा जातीय विभेद

पोखरा – पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणअन्तर्गत दोस्रो दिन संगीतको जातशास्त्र सत्र सम्पन्न भएको छ । लोक गायक बद्री पंगेनी, डिक्रा बादी र दिलीप गायक वक्ता रहेको सेसनमा नेपाली संगीत क्षेत्रमा जातका आधारमा हुँदै आएका विभेदका विषयमा छलफल भयो ।

कार्यक्रममा पहिलो देउडा एल्बम निकाल्ने गायिका डिक्राले आफै सिकेर गाउने नाच्ने गर्दा पनि आफ्नो समूदाय सधैँ हेपिइरहनुपरेको गुनासो गरिन् । उनले भनिन्, ‘हामी जग्गा जमिन नभएको हुनाले अरुमा भर पर्नुपर्ने अवस्था थियो । जिजुबाजेको पालादेखि नै नाचगान गरेर मागेर खान्थ्यौँ । हाम्रो कलाको सम्मान हुने कुरा त परै जाओस् गाउने र नाच्ने भनेरै सधैँ हेपिइनु पर्यो।’

त्यही हेपाइ सहन नसकेर पुस्तौँदेखि चल्दै आएको संस्कृति मासिन लागेको बताउँदै उनले थपिन्, ‘मैले गाएँ, एल्बम निकालेँ त्यसैबाट परिवार चलाउन सकेँ छोराछोरी पढाउन सकेँ । तर, अहिलेको पुस्ता रोजगारीका लागि इण्डियातिर जाने गर्छ ।’सिमान्तकृत समुदायको कलाकार भएर बाँच्न अझै पनि सहज नरहेको उनको दाबी छ ।

त्यस्तै नियती लामो इतिहास बोको गन्धर्भ समूदायले पनि भोग्न बाध्य भएको दिलीपले बताए । ‘सारंगी बजाएपछि मागिखाने गाने भन्न थालेपछि ८० प्रतिशतले सारंगी बजाउन छोड्नुभयो,’उनले भने, ‘सबैले मागिखाने भन्दा भन्दै किन सारंगी बजाउने ? बरु अरु काम गरौँ भनेर अरु जागिर खोज्न थाल्नुभयो । जसले गर्दा सारंगी नै लोप हुने अवस्थामा पुग्यो ।’

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका दिलीप हाल आफूहरुले नै स्थापना गरेको संस्था झलकमान सारंगी पाठशालामार्फत सारंगीको पुस्तान्तरण तथा करखा, तरबारनाच जस्ता गन्धर्भका सांस्कृतिक गायन तथा नृत्यको संरक्षण अभियानमा लागेका छन् ।

केही समय अघिसम्म दोहोरी साँझमा समेत जात सोधेर मात्रै काम दिइने चलन रहेको अर्का गायक बद्री पंगेनीले बताए । गाउने पेशाकै कारण आफैले अभद्र व्यवहार भोग्नु परेको अनुभव सुनाउँदै धेरै दलित समुदायका कलाकारले आफ्नो थर नै फेर्न बाध्य भएको पनि जनाए ।

उनले भने, ‘त्यस्ताविभेदको प्रत्यक्षदर्शी म पनि हो । मैले धेरै विभेदका विरुद्ध गीत पनि गाएको छु । अहिले बिस्तारै कम हुँदैछ तर हटिसकेको छैन । त्यसका लागि हामीले प्रश्न सोध्नुपर्छ, अधिकार खोज्नुपर्छ ।’ जातिय, लैंगिक, वर्गिय जस्तै संगीतमा पनि विभेद हुने गरेको र त्यसलाई निर्मुल पार्न सबै कलाकारले सामूहिक रुपमा काम गर्न आफूले पनि पहल गर्ने उनको भनाइ छ ।

सामाजिक न्याय अभियन्ता शिवहरी ज्ञवाली सहजकर्ताको रुपमा रहेको सेसनमा डिक्राले देउडा ठाडी भाका, दिलीपले उनका बाबुको सिर्जना ‘फूल मायामा नभूल’ र बद्रीले ‘कला चल्यो, गला चल्यो’ लगायतका गीत गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?