जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा नयाँ ‘रेकर्ड’

काठमाडौँ – पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा नयाँ ‘रेकर्ड’ नै बनेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २०२३ मा  एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटकले  यो क्षेत्रको भ्रमण गरेका हुन ।

जुन सङ्ख्या अहिलेसम्मकै धेरै हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।

‘पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक बढेका छन् भने अन्य देशका पर्यटक घटेको पाइएको छ ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले भने ‘सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकोमा गएको वर्ष ९७ हजार पाँच सय ५४ जनाले यो क्षेत्रको भ्रमण गरेका थिए । ’

सन् २०१९ मा सार्क क्षेत्रबाहेकका देशका एक लाख २७ हजार दुई सय ९० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएकामा गएको वर्ष जम्मा ९४ हजार चार जनाले यो क्षेत्र घुमेको आयोजना प्रमुख डा. कडरियाले जानकारी दिए । 

उन अनुसार सन् २०२३ मा एक सय ७३ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । जसमध्ये सबैभन्दा बढी भारतका ९६ हजार एक सय ८७ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

यस अवधिमा फ्रान्सका आठ हजार पाँच सय २६, जर्मनीका सात हजार छ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका छ हजार तीन सय २३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको तथ्याङ्क छ ।

आयोजना प्रमुख डा। कडरियाले पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको सङ्ख्या घटेको हो । विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक रहेको उनको भनाई छ ।   

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्य स्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्य स्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । 

तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट ‘लोन्ली प्लानेट’ले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको थियो ।

गएको कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि यस क्षेत्रको महत्त्व थप चुलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?