जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

संस्कृति

लोकप्रिय बन्दै देउडा भाका

काठमाडौँ– सुदूर पश्चिम क्षेत्रमा अलग्गै पहिचान बोकेको गीत हो देउडा । देउडालाई देउडा भाषिका, देउडा गीत, लोक देउडा भनेर पनि चिनिन्छ ।

यी देउडा र ठाडी भाका खासगरी सुदूर पश्चिम क्षेत्रमा लोकप्रिय भए पनि पछिल्लो समय भने राष्ट्रिय स्तरमा नै गुञ्जिन थालेका छन् । देउडा गीत लोप हुँदै गयो भनेर थुप्रै बहसहरू पनि भए । तर, केही वर्षयता भने देउडा गीतलाई आम स्रोता तथा दर्शकले मन पराउन थालेका छन् ।

पाँच वर्षअघि जनक ताम्राकारले गाएको गीत ‘काफल खान्या कुइयाँ’ खुबै रुचाइएको थियो । उक्त गीत डोटेली तथा कुमाउनी लोक शैलीमा आधारित छ ।

यो गीत वरिष्ठ लोकगायक नन्दकृष्ण जोशीको ‘काफल खान्या’ बोलको गीतमा आधारित छ । हालसम्म यो गीत १ करोड ३९ लाख पटक युट्युबमा हेरिएको छ ।

सोही गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छिन् । सो गीत पनि युट्युबमा एक करोड ३० लाख पटक हेरिएको छ । यो गीतमा डोटेली मात्र नभएर कुमाउनी शब्दहरू पनि प्रयोग गरिएको छ ।

केही समयअघि सार्वजनिक गरिएको कुमाउनी गीत ‘ढाइ हाथ धमेली’ पनि नेपालमा निकै लोकप्रिय भएको थियो । यो गीत लोकप्रिय हुनुको कारण यसमा सुदूर पश्चिमकै झलक पाइएको धेरैको बुझाइ छ ।

चर्चित देउडा गायक शेरी औजी पछिल्लो समय देउडा गीतले पनि राष्ट्रिय स्तरमै लोकप्रियता कमाउन थालेको बताउँछन् ।

‘केही समय देउडा गीतको इतिहास नै लोप हुने अवस्थामा थियो, अहिले भने फेरि यी गीतहरू गुञ्जिन थालेका छन्,’ गायक औजी भन्छन्, ‘टिकटक प्रयोगकर्ताले देउडा गीतमा भिडियो बनाउन थालेपछि यी गीतहरू पनि सुनिन थालेका छन् ।’

नेपालमा टिकटक प्रतिबन्ध हुनुभन्दा पहिले देउडा गीतहरू टिकटकमा निकै भाइरल भएका थिए । ती भिडियोले गर्दा दर्शकले युट्युब लगायतका प्लाटफर्ममा भिडियोहरू खोजी खोजी हेर्न थाले । कुमाउनी गीत ‘ढाइ हाथ धमेली’ पनि नेपालमा टिकटकबाटै भाइरल भएको थियो ।

सूदुरपश्चिम क्षेत्रमा हुने देउडा प्रतियोगिताका भिडियो फुटेजहरु सामाजिक सञ्जालमा लोकप्रिय बन्न थालेपछि बिस्तारै देउडा गीतहरू आम स्रोतामाझ सुनिन थाले ।

‘अहिले देउडाका गीतहरूले दर्शकको माया पाउन थालेका छन्, तर अझै पनि देउडा मात्रै गाएर बाँच्ने अवस्था भने छैन,’ गायक शेरी औजी जोय नेपालसँगको कुराकानीमा सुनाउँछन् ।

मूल नेपाली संगीत क्षेत्रमा अहिले गीत गाएर नै जीवन निर्वाह गर्न सक्ने आधार बनेको छ । तर, देउडा गायकहरू भने गीत नै गाएर बाँच्न सकिने अवस्था अझै नरहेको बताउँछन् ।

‘देउडा गीतले प्राथमिकता त पाएका छन् तर गीत गाएर बाँच्न गाह्रो छ,’ गायक औजी भन्छन् ।

यद्यपि कतिपय देउडा कलाकारले भने विभिन्न महोत्सवहरूमा सहभागिता जनाएर राम्रो आम्दानी गरिरहेका छन् ।

अर्का देउडा गायक भानुभक्त जोशीले देउडाको लोकप्रियता बढ्दै गए पनि पछिल्लो समय भने देउडा गीतमा उच्छृङ्खलता भित्रिँदै गएको बताउँछन् ।

उनका अनुसार देउडामा प्रयोग गरिने शब्द र नेपाली भाषाको उद्गम स्थल मानिने जुम्लाको सिँजामा बोलिने भाषिकासँग पनि मिल्दोजुल्दो छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले लेखेका अभिलेखको भाषा यही भाषिकासँग मिल्छ ।

‘देउडाको भाषा नै पृथक छ, यसलाई जर्गेना गर्न हामी त लागेका छौँ तर सरकारले त्यति चासो दिएको छैन,’ जोशी गुनासो गर्छन् ।

‘देउडा गीतले लोकप्रियता कमाउनुको कारण वास्तविक फरक भाषिका भएकाले पनि हुनुपर्छ, म आफै पनि लामो समयदेखि देउडा गीतकै क्षेत्रमा काम गरिरहेको छु, अहिले यसको लोकप्रियता बढ्दै गएको छ,’ उनी भन्छन् ।

देउडा केही दशकअघि सम्म मेलापातमा गाइने गीतका रुपमा चिनिन्थ्यो । यो बीचमा कैयन् देउडा गीतहरू रेडर्क त भए तर ती गीतले राष्ट्रिय स्तरमा त्यति ठूलो प्रभाव पार्न सकेका थिएनन् ।

इन्टरनेटको विकास सँगसँगै देउडा तथा ठाडी भाकाका गीतहरू अहिले विदेशमा रहेका नेपालीमाझ समेत लोकप्रिय छन् ।

देउडा भाका होस् या ठाडी भाका, सुरुका दिनमा स्थानीय रहनसहन र शैलीलाई समेटेर लेख्ने गरिए पनि अहिले ती गीतमा मौलिकता नै मार्ने गरी पैसा कमाउनका लागि जथाभावी गीत लेख्न थालेकोप्रति भने स्थानीयहरू रुष्ट छन् ।

देउडा गायक भानुभक्त जोशी देउडा गीतले लोकप्रियता कमाउँदै गइरहेका बेलामा मौलिकता नै मास्ने गीत गाइनु ठीक नभएको तर्क गर्छन् ।

‘मैले लामो समय यो क्षेत्रमा काम गरेँ, तर अहिलेका कति कलाकारले गाएका गीत आफैलाई सुन्दा पनि नराम्रो लाग्छ, लोकप्रिय त भए तर विसङ्गति भित्रिने हो कि भन्ने चिन्ता पनि छ,’ उनी भन्छन् ।

देउडाको जर्गेनाका लागि आफूहरू सधै तयार रहेको उनी बताउँछन् ।

केही वर्षअघि रामचन्द्र जोशीले स्वर दिएको ‘डोली चढाइ लैजान्या हुँ सुवा’ बोलको देउडा गीतले राष्ट्रिय स्तरमै निकै लोकप्रियता कमाएको थियो । १३ वर्षअघि सार्वजनिक गरिएको उक्त गीत अहिले पनि युवापुस्तामाझ गुनगुनाउने गरेको पाइन्छ ।

यस्तै महेश कुमार औजी र विष्णु माझीको स्वर रहेको ‘सुदूरपश्चिम स्वर्गसरी’ ले पनि दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो । यी गीतले देउडा भाकालाई देश विदेशसम्म चिनाउन ठूलो भूमिका खेलेको थियो ।

त्यसो त अहिले नेपाली फिल्ममा पनि देउडा गीतको प्रभाव परेको छ । सात वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा’ को ‘सुन न चम्पा’ बोलको गीतले पनि अत्यधिक लोकप्रियता कमाएको थियो ।

आजभोलि सामाजिक सञ्जाल फेसबुक, युट्युब तथा टिकटकमा देउडा भाकाको लोकप्रियता बढेसँगै यी गीतहरू राष्ट्रिय स्तरमै स्थापित हुँदै गइरहेका छन् ।

देउडा भाकाले जमेको सुदूरपश्चिम

देउडा भाषिका खासगरी सुदूरपश्चिमका बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा लगायतका जिल्लाहरूमा प्रचलित छ । यस्तै मध्यपश्चिमाञ्चलका कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, र जाजरकोट जिल्लाहरूमा पनि देउडाको प्रभाव छ । देउडा गीत पश्चिमेली भाषामा गाइने गरिएको छ ।

मनोरञ्जनका लागि होस् वा आफ्ना कुरा व्यक्त गर्नका लागि, महिलाहरू यस्ता गीत गाउनुमा स्वतन्त्रताको पनि महसुस गर्छन् । 

रनवन थर्काउने गरी महिलाहरू जम्मा भएर होस् या वल्लो डाँडा, पल्लो डाँडा गरेर गीतहरू गाउनुलाई महिलाहरू मनोरञ्जनको साधनको रुपमा पनि लिने गर्छन् ।

मौलिक देउडा गीतहरूमा महिलाहरूको साहसी कथा, समाजको यथार्थ चित्रण, विकास निर्माणका विषयहरू समेटिएका हुन्छन् । अहिले भने देउडा गीतमा पनि विविधता समेट्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?