जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जलवायु परिवर्तनको असर

हिमाली क्षेत्रमै परेन हिउँ, मानव जीवनमा कस्तो प्रभाव पर्छ?

काठमाडौँ– हिउँद याम शुरु भएसँगै हिमपात भएर सेताम्मे हुने अधिकांश हिमाली क्षेत्रमा यस वर्ष हिउँ नै परेन । सेता हिमालहरु काला पहाडको रुपमा देखिए । हिमाली क्षेत्रमा पछिल्लो केही वर्षयता हिउँ नै पर्न छोडेकोले यसले वातावरणमै प्रतिकुल असर पारिरहेको विज्ञहरु बताउँछन् ।

हिमाली जिल्ला दोलखा, सोलुखुम्बु लगायत क्षेत्रमा केही वर्षदेखि नै हिउँ पर्न कमी आए पनि अघिल्लो वर्षदेखि निकै न्यून रहेको स्थानीयहरु सुनाउँछन् । दोलखाको पर्यटकीय स्थल कालिञ्चोक, जिरी, शैलुङ, खरीढुङ्गा लगायतका क्षेत्रमा यो वर्ष पनि हल्का मात्रामा मात्र हिउँ पर्‍यो ।

कालिञ्चोक तथा शैलुङ क्षेत्रमा हल्का रुपमा हिमपात परे पनि धेरै स्थानहरुमा यो वर्ष हिउँ नै नपरेको दोलखास्थित भिमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईँले जोय नेपाललाई बताए । कुनैबेला हिउँ परेर यातायात सेवा तथा विद्यालयहरु नै बन्द गर्नुपर्ने अवस्था समेत आएको उनले स्मरण गरे ।

‘यस वर्षचाहीँ गएका वर्षहरुको तुलनामा अति न्युन मात्रै हिमपात भयो, ‘उनले भने, ‘यसपाली जम्मा दुई पटकमात्र हिमपात भएको छ । त्यो पनि उच्च हिमाली क्षेत्र कालिञ्चोकमा मात्रै भयो । यसलाई त हामी हिमपात नै भएको मान्दैनौँ ।’

यसअघिका वर्षहरुमा हिमपात भएर बाटोघाटो नै अवरुद्ध भएर डोजर नै लगाउनुपर्ने अवस्था आएको उनले सुनाए । उनका अनुसार अहिले जाडोमा पनि विद्यालयहरु पनि निरन्तर चलिरहेका छन् ।

दोलखा लगायतका हिमाली क्षेत्रहरुमा हिमपात मात्रै नभई अहिले हिउँदे वर्षा समेत हुन छोडेपछि कृषकहरुले हिउँदे बाली लगाउन पाएका छैनन् । हिउँदे बालीको उत्पादन घटेर खाद्य संकटमा पर्ने चिन्तामा अहिले कृषकहरु छन् । चौलागाईँले भने, ‘आकाशमा बादल देखिन्छ, तर न हिमपात हुन्छ, न हिउदे वर्षा नै । वर्षा र हिमपात नहुँदा सिँचाइको अभावले हिउँदे बालीको उत्पादन घट्ने किसानहरुमा चिन्ता बढेको छ ।’

हिमपात नहुँदा तापक्रम पनि त्यतिकै बढिरहेको छ । हिमाली भेगमा जाडो हुन समेत छोडेको छ । यसले धुलोधुवाँका कारण वातावरण नै प्रदुषित भई मानव स्वास्थ्यमा पनि नराम्रो असर परिरहेको वातावरण विज्ञहरुको भनाइ छ ।

धेरै हिउँ पर्ने भनेर चिनिएको हिमाली जिल्ला सोलुखुम्बुमा पनि यस वर्ष खासै हिमपात नभएको सहायक जिल्ला अधिकारी सरोज अर्यालले जोय नेपालसँगको कुराकानीको क्रममा बताए । धेरै हिउँ पर्ने भनेर चिनिएकै ठाउँहरुमा यस वर्ष हिमपात नभएको जोय नेपाललाई बताए । उनका अनुसार सधै हिउँ पर्ने उच्च हिमाली क्षेत्र नाम्चे, खुम्बुजस्ता क्षेत्रमा अति न्युन मात्रामा हिमपात भएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका वैज्ञानिकले यस वर्ष नेपालका हिमाल क्षेत्रहरुमा केही वर्षयताकै कम हिउँ देखिएको र सुख्खापन पनि बढेको जनाएको छ । यद्यपि जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँद याममा औसतभन्दा बढी वर्षा हुने जनाएको थियो । विभागका अनुसार यसै वर्ष भने र छोटो समयका लागि मौसमको पुर्वाअनुमान गर्ने क्षमता विभागसँग नभएका कारण कहिलेकाहीँ तलमाथि पर्न सक्छ ।

हिमाली क्षेत्रमा नै वर्षा र हिमपातको अनुपात गडबढ हुनु र समयमा फेरबदल हुनु चिन्ताजनक विषयका रुपमा लिनुपर्ने विज्ञहरुको भनाइ छ । यसमा सचेत समेत हुन उनीहरुले सुझाव छ ।

हिउँदमा हिमपात र वर्षा नहुदा धेरै क्षेत्रहरुमा प्रतिकुल असर पर्ने वातावरणविद् जुद्ध बहादुर गुरुङले सुनाए । उनले भने, ‘यसले वातावरणसँगै मानव स्वास्थ्य, पृथ्वीको जैविक विविधता, कृषि उत्पादन कमी भई भोकमरी जस्ता समस्या निम्त्याउँछ ।’

ग्लोवल वार्मिङ (जलवायु परिवर्तन) , हरितगृह प्रभाव र भू–मध्यसागरबाट आउने जलवाष्पयुक्त वायु प्रयाप्त रुपमा आउन नसकेका कारण हिमाली भू–भागमा हिउँ पर्न सकेन । यसका कारण पर्यटन क्षेत्रमा पनि प्रत्यक्ष असर पुग्ने गरेको उनको भनाइ छ ।

के यो जलवायु परिवर्तनको असर हो ?

हिमाली क्षेत्रमा पछिल्लो समय हिमपात र वर्षा नहुनुलाई जलवायु परिवर्तनको असर मान्ने कि नमान्ने भन्नेबारे स्वयम् विज्ञहरु नै एकिन छैनन् । अहिले देखिएको हिमपात कम हुने समस्या ठ्याक्कै जलवायु परिवर्तनका कारण हो भनेर भन्न नसकिने जलवायुविज्ञ तथा ‘प्रकृति रिर्सोसेज सेन्टर (पिआरसी)’का कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीको बुझाइ छ ।

‘यो वर्ष अहिलेसम्मकै हिमपात र हिउँदे वर्षा कम भएको छ । यसलाई जलवायु परिवर्तनको असर हो या होइन भन्न सकिँदैन । यसका लागि धेरै वर्षको हिमपात र हिउँदे वर्षाको विश्लेषण गरिनुपर्छ’ उनले भने ।

उनका अनुसार हरित गृह ग्यास उत्सर्जन लगायतका कारण यो समस्या देखिएको हो ।

यसले गर्दा दक्षिण एसियाकै नदीनाला, कृषिक्षेत्र, उर्जा तथा मानव जनजीवन लगायत हिमाली अर्थतन्त्र नै प्रभावित हुने उनले बताए । यसको समाधानका लागि नेपालले मात्र नभई विश्वले नै यसतर्फ ध्यान दिनुपर्ने क्षेत्रीको भनाइ छ ।

उनले थपे, ‘विश्व तापमान तिव्र रुपमा बढिरहेको छ । जसका कारण यस्ता समस्याहरु बढिरहेका छन् ।’

यो समस्या समाधानमा नेपाल मात्र जिम्मेवारी नभएको बताउँदै उनले समाधानका लागि विश्व लाग्नुपर्ने उनको धारणा छ । तथापि नेपालले यस्ता समस्याबाट राहत पाउनका लागि विपद् पूर्व तयारी, जलवायु अनुकुलनमा तथा जलवायुमैत्री पूर्वाधार निर्माण जस्ता पक्षमा जोड दिनुपर्ने उनको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?