पायल्समा लापरबाही गरे के हुन्छ, के छ उपचार ?

काठमाडौं – पायल्स यस्तो रोग हो जसमा गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् । खानपिन र जीवनशैलीका कारण धेरैजसो मानिसलाई पायल्सको समस्या हुने गर्दछ ।

नेपालीहरूलाई धेरै हुने मध्येको रोग हो, पायल्स। खानपिनको कारणले होला पछिल्लो समय यो रोगबाट पीडित हुनेहरू बढिरहेका छन्।

पायल्स भनेको दिसामा रगत जानु हो। जुन अवस्थामा दुख्ने भन्ने हुँदैन। दिसा गरिसकेपछि रगत जानुलाई हामी पायल्स भन्छौं। रगत जाँदा दुख्छ भने त्यो पायल्स होइन। दिसा गर्दा दुख्छ तर रगत जाँदा दुख्दैन। पायल्स थुप्रै कारणले गर्दा हुन्छ। मुख्य कारण कब्जियत हो।

महिलाहरूलाई गर्भावस्थामा पनि पायल्स हुन्छ। गर्भावती भएको बेलामा नसाहरू थिचिन्छ जसले गर्दा कब्जियत हुन्छ। त्यसपछि मलद्वारको नसा फुटेर रगत पनि जान्छ।

लापरबाही गरे के हुन्छ ?

लापरबाही गर्‍यो भने जटिलता आउन सक्छ। रगत बढी जाने भएकाले रक्तअल्पताको खतरा हुन्छ। कहिलेकाहीँ संक्रमण समेत हुन्छ। मासुको डल्लो बाहिरको बाहिरै रह्यो भने त्यहाँ घाउ हुन्छ भने नशामा रगतसमेत जम्छ। यसले क्यान्सर भने गराउँदैन।

के खाने के नखाने ?

धेरैजसो पायल्समा अप्रेसन गर्नु पर्दैन। यसको मुख्य कारण कब्जियत हो। त्यसैले दिसा साह्रो हुनबाट जोगाउनु पर्छ। मासुलगायतका धेरै प्रोटिन हुने खानेकुरा, पिरो, चिल्लो र मसलाले पनि कब्जियत गराउँछ। हरियो तरकारी, सागपात र बढी झोल खाने हो भने कब्जियत हुँदैन।

उपचार

नीमको कोमल पातलाई घ्यूमा भुटेर त्यसमा थोरै कपुर हाल्नुहोस् र पायल्सको मासुमा लगाउनुहोस् ।

कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँदा पाइल्सबाट राहत पाइन्छ ।

लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाउँदा केही दिनमा फाइदा हुनथाल्छ ।

तुलसीको पातलाई पानीसँग पिसेर लगाउँदा जलनबाट राहत महसुस हुन्छ । पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ ।

अमलाको पाउडरलाई पानीमा घोलेर रातभरी माटोको भाँडोमा राख्नुहोस् । बिहान मिश्री मिसाएर पिउनुहोस् ।

काँचो प्याजलाई मसिनो आँचमा भुट्नुहोस् । यसको पेस्ट बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनभित्र फाइदा हुन्छ ।

चियाको पत्ती पिसेर पेस्ट बनाउनुहोस् र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउनुहोस् । केही दिनमा मासु सुक्नेछ ।

एक मुट्ठी कालो तिललाई एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्सको समस्यामा फाइदा पुर्याउँछ ।

मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?