जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जनकपुरधामबाट पठाइयो अयोध्याका लागि उपहार

काठमाडौँ – आगामी माग ८ गते भगवान रामको जन्मभूमि अयोध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधामबाट भार (उपहार) पठाइएको छ । 

जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गरेका हुन्।

जानकी मन्दिरको अगुवाइमा विशेष यात्रासहित भार लिएर यहाँबाट यात्रा प्रारम्भ भएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । 

मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेष रूपमा कोसेली पठाउने गरिन्छ । सोही परम्पराअनुसार राम मन्दिर उद्घाटनका अवसरमा माता सीताको माइती पक्ष जनकपुरधामबाट एक हजार एक सय भार त्यसतर्फ पठाइएको हो । भारमा विभिन्न प्रकारका आभूषण, भाँडा, कपडाका साथै मिठाइलगायतका भार बाँसबाट बनाइएका विशेष चङ्गेरमा सजाइएका छन् ।

जनकपुरधामबाट जलेश्वरनाथ, मलङ्गवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विभिन्न धार्मिक स्थलको दर्शन गर्दै अयोध्या पुग्ने र पुस २१ गते अयोध्यामा श्रीराम जन्मभूमि राम मन्दिर ट्रष्टलाई भार हस्तान्तरण गरिनेछ ।

राममन्दिरको प्राण प्रतिष्ठालाई नयाँ गृह प्रवेशका रूपमा लिई ‘घरबासक भार’ लिएर जनकपुरधामबाट करिब तीन सय जनाको टोली त्यहाँ प्रस्थान गरेको सहमहन्थ दासको भनाइ छ । 

यस कार्यले नेपाल–भारतबिच त्रेता युगदेखि चलिआएको वैवाहिक सांस्कृतिक सम्बन्धको महत्त्व दर्शाउनुका साथै त्यसलाई थप बलियो बनाउन भूमिका खेल्ने विश्वास गरिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख एवं भारयात्रा मूल समारोह समितिका संरक्षक मनोजकुमार साहले बताए ।

अयोध्यामा मन्दिर निर्माण सुरू भएपछि गत वर्ष नेपालको काली गण्डकी नदी किनारबाट दुई वटा शिलासमेत अयोध्या पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?