जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जाडो महिनामा हातखुट्टा फुट्ने कारण र जोगिने उपाय

काठमाडाैँ – जाडो महिनामा हाम्रो दैनिक जीवन केही कष्टकर हुन्छ । गर्मी महिनाको तुलनामा जाडोयाममा हामीले आफ्नो शरीरको पनि विशेष ख्याल गर्नुपर्छ ।

चिसोका कारण हाम्रो शरीरका छालाहरु कठ्याङ्ग्रिने, चाउरी पर्ने, फुस्रो हुने, सुन्निने, कत्ला परेजस्तो हुने हुन्छ ।

आखिर किन हाम्रो शरीरले यस्तो प्रतिक्रिया देखाउँछ? हातखुट्टा फुट्ने कारण के हो? लगायतका विषयमा छाला रोग विशेषज्ञ डा. मेरिना मानन्धरसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको छोटो कुराकानीः

चिसो मौसममा शरीरको छाला सुख्खा किन हुन्छ त ?

चिसो मौसममा हाम्रो वरिपरिको वातावरणले हाम्रो शरीरको चिल्लो पदार्थ सोसेर लिन्छ । हाम्रो छालामा पनि पानीको मात्रा कम हुन्छ । वातावरणमा भएको हावाले चिल्लोपना सोस्दा छाला सुख्खा हुन्छ ।


जाडोयाममा हाटखुट्टा फुट्ने समस्या पनि छ नि? यो किन हुन्छ ?

हाम्रो शरीरका अन्य अंगहरुका तुलनामा हातखुट्टा त्यति छोपिँदैन । अर्कातिर अनुहारलाई जति स्याहार हामी हातखुट्टालाई दिएका हुँदैनौँ । हामीले चिसो पानी पनि धेरै चलाउँछौँ । अझ धेरै महिलाले त लुगा धुने, भाँडा माझ्ने गर्दा हातखुट्टा फुट्छ । साथै साबुन, सेनिटाइजर प्रयोग गर्दा पनि हातखुट्टा फुट्ने गर्छ ।

शरीरको छाला किन सुख्खा हुन नदिन के गर्नुपर्छ ?

छाला सुख्खा हुन नदिन बजारमा पाइने जुन पायो त्यही मोस्टराइजर लगाउने गर्नु हुँदैन । मेडिकलमा गएर सेरामाइड, प्याराफिन भएको मोस्टराइजर लिएर दिनमा तीनपटक लगाउने गर्नुपर्छ । अझ धेरै नै फुटेको छ भने युरिया, गिल्सिरिन भएको मोस्टराइजर प्रयोग गर्नुपर्छ । शरीरमा छाला सुख्खा नहुने क्रिमहरुको प्रयोग गर्नुपर्छ ।

छाला सुख्खा हुँदा शरीरलाई कुनै असर पर्छ र ?

छाला सुख्खा हुँदा शरीरमा नै असर पर्ने भन्ने त होइन । तर नराम्रो देखिने, छाला चिलाउने र पोल्ने हुन्छ । कतिपय अवस्थामा रगत नै आउने पनि हुन्छ ।

अन्त्यमा पाठकलाई केही भन्न चाहनुहुन्छ ?

गर्मी महिनामा भन्दा जाडोमा हामीले अलिक बढी नै ख्याल गर्नुपर्छ । हातखुट्टामा लगाउने मोस्टराइजर अनुहारका लागि प्रयोग गर्नुहुँदैन । अनि धेरै नै फुट्ने समस्या छ भने भाँडा माझ्दा या पानीमा कुनै काम गर्दा पञ्जा लगाउने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?