जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बहुधार्मिक साझा तीर्थ मदारबाबा मेला सुरु

नवलपरासी – बहुधार्मिक साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गरेका छन् ।

मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको मदारबाबा मेलाको बिहीबार राज्यमन्त्री ठकुरीले उद्घाटन गरेका हुन् । दश दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न स्थानका साथै भारतको विहार, उत्तर प्रदेश, मध्यप्रदेश, पञ्जाब, दिल्लीलगायत प्रान्तबाट लाखौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।

इस्लाम धर्मका गुरु कुदुबुल जिन्दा मदार शाह बाबाले ४० दिनसम्म तप गरेर सिद्धि प्राप्त गरेको स्थानका रुपमा दाउन्ने पहाडमाथि रहेको मदारबाबाको मजारलाई लिइने मदारबाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुद्दिन अन्सारीले बताए । यही फागुन १७ गतेदेखि सुरु भएको मेलामा हिन्दू र मुसलमान दुवै समुदायका मानिसको आस्थाको केन्द्र रहेको उनले बताए ।

भक्तजनले आफ्ना यहाँ आएर समस्या समाधानका लागि भाकल गर्ने ‘मन्नत माग्ने’ चलन रहेको भन्दै अन्सारीले भाकल पूरा भएपछि मेलामा आएर मदारबाबाको समाधिमा च्यादर चढाउने प्रचलन रहेको जानकारी दिए । प्रत्येक वर्ष मदारबाबा मेलामा लाखौँको सङ्ख्यामा देश विदेशबाट भक्तजनको आउने भए पनि स्थानीय प्रशासन एवं राज्यले मेलालाई व्यवस्थापनमा कुनै चासो नदेखाएको उनको भनाइ छ ।

हिन्दू सम्प्रदायको पशुपतिनाथ, गडिमाई, जनकपुरको रामजानकीलगायत मन्दिरमा लाग्ने मेला, बुद्ध धर्मावलम्बीको लुम्बिनी, रामग्राम स्तूपा तथा मुस्लिम समुदायको मदारबाबा मेला पनि प्रख्यात रहेको अवस्थामा यसको प्रचारप्रसार र प्रवर्द्धनमा चासो नदिँदा ओझेलमा परेको संरक्षण संस्थाका अध्यक्ष अन्सारीले बताए । “प्रत्येक वर्ष यहाँ स्वतःस्पूर्तरुपमा मेला लाग्ने गर्दछ । मेलामा भेटीस्वरुप चढाइएको रकमले यसको व्यवस्थापन गर्ने गरेका छौँ”, उनले भने ।

पर्यटन मन्त्रालय, स्थानीय प्रशासनलगायत सरोकारवाला निकायले यसको संरक्षण र प्रवर्द्धनमा पहल गर्नुपर्नेमा अन्सारीले जोड दिए । उनका अनुसार यस वर्ष व्यवस्थापन समितिले करिब १२ लाख पर्यटक यहाँ आउने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?