जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित

इलाम – अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । धान तथा मकै बाली हटाएर अम्रिसोको व्यावसायिक खेती गरेका किसानहरु मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् ।

अम्रिसोको मूल्य गतवर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको छ । गत वर्ष प्रतिकेजी रु एक सय २० देखि रु एक सय ३० सम्ममा बिक्री भइरहेकोमा अम्रिसोको फूल ‘कुचो’ अहिले प्रतिकेजी रु ६५ मा मात्र बिक्री भइरहेको छ ।

इलाम माई नगरपालिक–९ का पूर्णकुमारी साउदेनले व्यापारीहरु किसानका घरमै पुगेर कुचो खरिद गरिरहे पनि मूल्य पनि अत्यधिक घटेको बताए । “गतवर्ष सुरुमा नै प्रतिकेजी रु एक सय १० का दरले कूचो बेचेको थिएँ, त्यसपछि रु एक सय ३० सम्म समेत पुगेको थियो”, उनले भने, “यसवर्ष प्रतसकेजी रु ६५ का दरले बेच्न बाध्य भएका छौँ ।”

विगतमा राम्रो मूल्य पाएपछि किसानहरुले हौसिएर अन्य बाली हटाएर अम्रिसो खेती गरेका किसान अहिले निराश भएको किसान अभिषेक येक्तेनले बताए । “अहिले अम्रिसोको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था समेत छैन”, उनले भने, “मैले यसवर्ष एक हजार केजी कुचो उत्पादन गरेको छु । त्यसको गोडमेल तथा कुचो तान्नका लागि प्रयोग गरिएको खेतालालाई दिने पैसा समेत नपुग्ने अवस्था छ ।”

यसरी मल्य नै घट्दै जाने हो भने अम्रिसोको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको किसान पवन राई बताउछन्। “दुई-तीन वर्षअघिसम्म कुचोको मूल्य राम्रो थियो”, उनले भने, “हामीले प्रतिकेजी एक सय ३० सम्ममा बेचेका थियौँ । त्यो बेला मूल्य राम्रो पाएपछि खेतमा अम्रिसो लगाइयो ।”

अन्य बालीको तुलनामा कम खर्चिलो र कम मेहनतमै राम्रो आम्दानी पाउने भएपछि धान, मकै, कोदो लगाउने खेत र बारीमा समेत अम्रिसो खेती गरिएको थियो । विरुवाका लागि भइरहेको बोटबाटै अर्को विरुवा निकाल्न सकिने, गोडमेलको झन्झट नहुने भएका कारण पनि किसानहरु अम्रिसो खेतीतर्फ आकर्षित भएका हुन् ।

दोमट माटो भिरालो जग्गामा अम्रिसो खेती फस्टाउने भएकाले किसानले प्रशस्त मात्रामा कूचो उत्पादन गर्ने गरेका छन् । अहिले एक जना किसानले चार हजार केजीसम्म कुचो बिक्री गर्ने गरेका छन् ।

इलामका व्यापारी एवम् इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले यसवर्षको सुरुमा प्रतिकेजी रु ७५ देखि ८० सम्ममा कुचो बिक्री भए पनि पछि मूल्य घटेको बताए ।

इलामको सबै पालिकाका विभिन्न ठाउँमा मुख्य रुपमा अम्रिसो खेती हुने गरेको छ । कूचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन भएपछि काकटभिट्टा हुँदै भारत निकासी हुने गरेको छ । जिल्लामा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन कूचो उत्पादन हुने गगरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?