जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जलवायु परिवर्तनको असर

के चराका प्रजातिहरू मासिँदै गएका हुन्?

कुन कुन चराहरू देखिन छाडे?

काठमाडौँ– बिहानी घामको किरणसँगै चराहरुको चिरबिर आवाजले निन्द्रा खुल्ने हिजोको समय मानिसका लागि नौला भइसके । गाउँघरमा घाम डुब्दै गर्दा ‘हुट्टिट्याउँ–हुट्टिट्याउँ’ भनेर साझँ परेको सूचना दिने हुट्टिट्याउँहरु पनि अहिले देखिन छाडेको छ ।

अहिले भँगेरा, गौथली, लामपुच्छ्रेजस्ता चराका धेरै प्रजातिहरु कम मात्रै होइन लोप हुने अवस्थामा पुगेको विज्ञहरुको अनसन्धानले बताउँछ ।  पछिल्लो समय जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट आउने हिउँदे चरा पनि नेपालमा घट्दै गएको विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ ।

यस्तै अवस्था यथावत रहने हो भने नयाँ आउने पुस्ताले चराहरू देख्न नपाउनेमा चराविद्हरुले सचेत गराएका छन् ।

नेपाल पंक्षी संरक्षण संघले पनि धेरै प्रजातिका चराहरु लोप हुने अवस्थामा रहेको बताउँछ । संघका कार्यक्रम प्रवन्धक अंकित विलास जोशीका अनुसार नेपालमा पाइने १ सय ७२ प्रजातिका चराहरु लोप हुने अवस्थामा छन् ।

अहिले नेपालमा जम्मा ८ सय ९२ प्रजातिका चराहरु पाइनेमा ४० प्रजातिका चराहरु विश्वमै दुर्लभ प्रजातिका छन् । यस्तै १ सय ७२ प्रजातिका चरा नेपालमै विभिन्न कारणले गर्दा संकटमा परेको जोशीले जोय नेपालसँगको कुराकानीका क्रममा बताए ।

काठमाडौँ लगायतका ठूला शहरहरुमा अहिले नयाँ डिजाइनका घरहरु बनेका कारण साना प्रजातिका चराहरूको सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।

उनले भने, ‘भँगेराहरू मुख्यतया बासस्थान विनाश र आहाराको अभावले हराएका हुन् । पुराना र परम्परागत घरहरु चराहरुको बासस्थानका लागि उपयुक्त हुन्थे । पछिल्लो समय बनेका नयाँ डिजाइनका घरका कारण पनि शहरहरूबाट चराहरु हराउन थालेका छन् ।’

पछिल्लो समयमा बढ्दो प्रयोग, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नाश, लगायतका कारणले पनि चराहरु लोप हुने अवस्था आएको जोशीले सुनाए ।

बदलिँदो तापमान र मौसम परिवर्तनले पनि धेरै प्रजातिका चराहरु संकटमा पर्ने गरेको उनको बुझाइ छ ।

विगतमा सजिलै र धेरै मात्रामा भेटिने भँगेरा, गौँथली, लामपुच्छ्रे जस्ता चराहरु अहिले छिटफुट मात्र देखिँदै जाँदा भविष्यमा लोप हुनसक्ने सम्भावना रहेको चराविद् डा. हेम बरालले बताए ।

उनका अनुसार नेपालमा भँगेरासँगै अन्य धेरै प्रजातिका चराहरु हराउने क्रम बढेको भए पनि संकटापन्न चराको सूचीमा राखिएको छैन ।

उनले भने, ‘युरोपमा संकटको सूचीमा राखिएको भँगेरा लगायतका धेरै प्रजातिका चराहरु अहिले हराउँदै गइरहेका छन् । तर यसलाई नेपालमा संकटापन्न चराको सूचीमा राखिएको छैन् । भँगेरा मात्रै नभइ नेपालमा पाइने धेरै प्रजातिका चराहरु हराउन थालेका छन् ।’

चराहरुको संरक्षण एउटा व्यक्ति वा संस्थाले गर्न नसक्ने बताउँदै उनले राज्य स्तरबाट नै संरक्षणको लागि पहल हुनुपर्ने बताए ।

कृषकहरुले अन्नबालीमा प्रयोग गर्ने विषादी र मोबाइल टावर, बिजुलीका पोल तथा तारहरुका कारण पनि चराहरू लोप हुने कारण बनिरहेको पंक्षीप्रेमीहरुको मत छ ।

चराहरुको संरक्षण गर्नका लागि सबैभन्दा पहिले प्रकृति संरक्षणमा ध्यान दिनुपर्ने डा. बरालको भनाइ छ । यसका लागि वातावरण मन्त्रालयले मात्र नभई अन्य मन्त्रालयले पनि यो कुरा बुझ्न जरुरी रहेको उनले बताए ।

चराहरुको बारेमा धेरै अनुसन्धान र अध्ययन नेपालमा हुन नसकेको भनाइ अर्का चराविद् बिमल थापाको छ ।

बढ्दो शहरीकरणसँगै चराचुरुङ्गीहरुको लागि उत्पन्न भएको बासस्थान तथा आहाराको अभावले गर्दा यसको सङ्ख्यामा घडबढसँगै लोप नै हुने अवस्था आएको उनले सुनाए ।

उनले भने, ‘हुलका हुल देखिने भँगेरा आजभोलि थोरै देखिन्छन् । अब भने यिनको संरक्षणको लागि पहल गर्नुपर्छ ।’

नेपालमा चरा संरक्षणको अवस्था पनि एकदमै कमजोर रहेको उनको भनाइ छ ।

‘चरा संरक्षण गर्न हामीमा जनचेतना, सहभागिता र विज्ञताको अभाव छ, सरकारको पनि संरक्षण सम्वन्धी नियम कानुनको अभाव छ, पत्रकारहरुले पनि यस विषयमा कलम कमै चलाउँछन्,’ उनले भने ।

घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा तापक्रमका कारण तराई क्षेत्रबाट लोप हुने अवस्थामा छन् । पंक्षी संरक्षण संघका कार्यक्रम प्रवन्धक जोशीले पनि यसमा सही थप्दै चरा संरक्षण विशुद्ध एकल संस्थाको अभियानले मात्र सम्भव हुन नसक्ने बताए ।

नेपालमा पाइनेमध्ये करीब १ सय ७२ प्रजातिका चराहरु लोप हुने अवस्थामा पुगेको अवस्थामा शहरी क्षेत्रमा परेवाको सङ्ख्या भने बढिरहेको देखिन्छ ।

भक्तपुरको च्यामासिङका विश्वराम दुलालले घरको सौन्दर्य बढाउनका लागि छाना बनाएका थिए । तर उक्त छाना र बार्दलीको रेलिङमा परेवाका बथानले बिस्ट्याएर दिक्क पारेको उनले सुनाए ।

संरक्षण संघका संरक्षण सदस्य जय भण्डारीले पनि सहरी क्षेत्रमा काग तथा परेवाहरुको सङ्ख्या बढे पनि यसलाई समस्याको रुपमा भने लिन नहुने बताए ।

उनले भने ‘पंक्षी संरक्षण संघ हरेक वर्ष २ पटक शहरी क्षेत्रमा परेवा तथा कागको सङ्ख्या गणना गर्ने गरेको छ, यसले पनि शहर तथा शहरोन्मुख क्षेत्रहरुमा तिनको सङख्या बढेको देखिएको छ ।’

परेवाको संख्या बढ्दै गएर यसबाट पंछीजन्य रोग सल्कियो भने समस्या हुन सक्ने उनले बताए । परेवालाई शान्तिको प्रतिक मानेर पूज्ने, खाना खुवाउने तथा बासस्थान पनि विशेष स्थान नचाहिने भएकोले सहरी क्षेत्रहरुमा परेवाको सङ्ख्या बढ्दै गएको उनको ठम्याइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?