जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सिनेमा

क्यूएफएक्सले नेपालीभन्दा विदेशी फिल्मलाई दियो धेरै शो, फिल्मकर्मीको विरोध

‘आफैले भित्र्याएका फिल्मलाई उच्च शो’

काठमाडौँ– नेपालमा सबैभन्दा धेरै हल भएको क्यूएफक्स सिनेमाजले नेपाली सिनेमालाई कम शो दिएको भन्दै फिल्मकर्मीले विरोध जनाएका छन् । फिल्मकर्मीले नेपाली फिल्महरुलाई कम शो दिएर विदेशी फिल्मलाई बढी शो दिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

यसअघि पनि पटक पटक क्यूएफएक्सले कम शो दिएको भन्दै सामाजिक सञ्जालमा विरोध हुँदै आएको थियो । फिल्मकर्मीले भने आफ्नो फिल्मले कम शो पाउँदा मात्र आवाज उठाउने गरेका छन् ।

भोलि शुक्रवारदेखि नेपाली फिल्म रंगेली, उपहार र काँडेतार प्रदर्शनमा आउँदै छन् । यी फिल्मलाई क्यूएफक्सले निकै कम शो दिएको छ भने आफूले भित्र्याएका हिन्दी तथा अङ्ग्रेजी भाषाका फिल्मलाई धेरै शो दिएको छ ।

क्यूएफएक्सले नेपाली फिल्म ‘उपहार’ र ‘रंगेली’ लाई ६/६ शो दिएको छ भने ‘काँडेतार’ लाई जम्मा ४ शो दिएको छ ।

नेपाली फिल्मको तुलनामा क्यूएफएक्सले एप्पल इन्टरनेनमेन्टका तर्फबाट नेपाल भित्र्याएको हिन्दी फिल्म ‘शैतान’ र अङ्ग्रेजी भाषाको फिल्म ‘कुङ फु पाण्डा’ लाई भने धेरै शो दिएको छ ।

क्यूएफएक्सले अनलाइन साइटमा खुलाएको बुकिङका अनुसार यो समाचार तयार पार्दासम्म शुक्रवारका लागि हिन्दी फिल्म ‘शैतान’ लाई २० शो दिएको छ भने ‘कुङ फु पाण्डा ४’ लाई १९ शो दिएको छ । यसरी हेर्दा तीन वटा नेपाली फिल्मलाई भन्दा एउटै विदेशी फिल्मलाई धेरै शो दिएको छ ।

फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत क्यूएफएक्सले नेपाली फिल्मकर्मीले हेपेको भन्दै विरोध जनाएका छन् । फिल्मकर्मीले आफैले नेपाल भित्र्याएका विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा लगाएको आरोप लगाएका छन् ।

क्यूएफएक्स सिनेमाज नेपालमा सबैभन्दा बढी पर्दा भएको हल भएकाले पनि यसले कम शो दिँदा फिल्मको व्यापारलाई नै प्रत्यक्ष घाटा हुने फिल्मकर्मीले गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?