जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बेहडाबाबा मन्दिरमा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा

कैलाली – धार्मिक तथा ऐतिहासिक महत्वको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।

बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा महाशिवरात्रिका अवसरमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको उनले बताए । प्रसिद्ध धार्मिकस्थल मानिने कैलालीको बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचार–प्रसार गर्न हेलिकप्टरद्वारा पुष्प वर्षा गराइएको आयोजकले जनाएको छ ।

पुष्प वर्षा बिहान ११ देखि मध्याह्न १२ बजेका बीचमा पुष्प वर्षा गरिएको हो । त्यस्तै अपराह्न दुई करोड २५ लाख बत्ती बालिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीद्वारा केही दिनअघि रु १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिएको थियो । हेलिकप्टर भाडाबापत रु ११ लाख र तीन क्विन्टल फूलको रु दुई लाख गरी जम्मा रु १३ लाख खर्च भएको बताइएको छ ।

पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि भण्डारा चलाइएको थियो । भण्डारामा आउनेलाई भोजनको व्यवस्था गरिएको थियो । उक्त धाममा भक्तजनलाई जान–आउनदेखि दर्शन तथा पूजापाठ गर्न बसको व्यवस्था गरिएको थियो ।

बेहडाबाबा मन्दिरमा लागेको महाशिवरात्रि मेलाको दर्शनका लागि छिमेकी मुलुक भारतबाट दर्शनार्थी आएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए। यहाँ प्रत्येक वर्ष भारतका लख्खिमपुर, पलिया, पिलिभित, उत्तराखण्डका विभिन्न स्थानबाट भक्तजन आउने गरेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?