जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सामाजिक सञ्जाल: पशुपति क्षेत्रको भिडियो ‘कपीराइट’ बारे कसले के भने?

काठमाडौं– बुढासुब्बा डिजिटल प्रालिले काठमाडौंको पशुपतिनाथ आर्यघाट क्षेत्रको बाग्मती किनामा हुने आरतीको तस्वीर तथा भिडियो खिचे कारवाही हुने भन्दै एक बोर्ड राखेपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध र बहस भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पशुपति क्षेत्र पनि विक्री हुन लागेको भन्दै आलोचना गरेका थिए ।

आलोचनापछि आज (शुक्रवार) पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै यसमा कोषको कुनै पनि संग्लङ्गता नभएको दाबी गरेको छ ।

‘यस पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ,’ सामाजिक सञ्जालमा अपलोड गरिएको एक पोस्टमा भनिएको छ, ‘यहाँ खिचिएका भिडियो सामग्री फेसबूक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपीराइट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउन चाहन्छौँ ।’

उक्त तस्वीरमा पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृत प्राप्त बुढासुब्बा डिजिटल प्रालि लेखिएको छ ।

उक्त तस्वीरसँगै सामाजिक सञ्जालमा व्यापक बहस र पशुपति क्षेत्र विकास कोषको विरोध भएको थियो भने प्रयोगकर्ताले बुढासुब्बा डिजिटलको युट्युब च्यानल पनि ‘अनफलो’ गर्ने अभियान चलाएका थिए ।

व्यापक विरोध भएपछि कोष पछाडि त सरेको छ । तर, यसले भोलिका दिनमा कुनै अर्को संस्थाले बसन्तपुर क्षेत्र, ठमेल क्षेत्रको तस्वीर तथा भिडियो पनि यसरी व्यावसायिक प्रयोजनका लागि दिने हो कि भन्ने बहस समेत सिर्जना गरिदिएको छ ।

मिडियामा आएका समाचारका अनुसार विकास कोषले आरती र दीप प्रज्वलनको भिडियो मासिक एक लाख ६० हजार रुपैयाँमा बुढासुब्बा डिजिटललाई विक्री गरेको थियो । पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले भने अनुसार बुढासुब्बा डिजिटललाई बोलकबोलका आधारमा कपीराइट विक्री गरिएको थियो ।

अहिले उक्त निर्णय फिर्ता भएको हो या पशुपति क्षेत्र विकास कोषले भनेझैँ यसमा कोषको कुनै सङ्लग्नता छैन भन्ने कुराको पुष्टि भएको छैन ।

सामाजिक सञ्जालमा कसले के भने?

ऋषिकेश शाहले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘पशुपति विकास कोष सनातन धार्मिक क्षेत्रको नेतृत्व र नेपाली सेनाको सुरक्षामा चलाउनु पर्छ, पशुपतिनाथमाथिको दोहन र व्यवसायीकरणले आस्थावानहरुको आस्थामाथिको चोट पुगेको छ ।’

यस्तै अर्का प्रयोगकर्ता अशेष अधिकारी लेख्छन्, ‘पशुपतिनाथको कमाइ सुकेको हो र? अब गंगा आरतीको भिडियो बेच्नुपर्ने अवस्थामा पुग्यो, पशुपतिनाथले सबैको रक्षा गरुन्, यस्तो कुबुद्धि कसैलाई नदिऊन् ।’

कतिपयले सामाजिक सञ्जालमार्फत पशुपतिनाथको कपीराइट पनि निजी कम्पनीलाई दिन प्रधानमन्त्री प्रचण्डलाई समेत आह्वान गर्दै व्यङ्ग्य गरेका छन् ।

यस्तै सन्तोषकुमार थापाले ‘आर्यघाट विक्रीमा छ कि छैन?’ भन्दै प्रतिप्रश्न गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषले आफ्नो निर्णय सच्याएको भन्दै कतिपयले खुशी व्यक्त गरेका छन् भने कतिपयले यो निर्णय पनि केही छिन प्रयोगकर्तालाई मत्थर पार्न गरिएको एउटा अपूर्ण निर्णय भन्दै टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?