जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आजको मौसम:कोशी गण्डकीमा हिमपात,तराईमा शीतलहर

काठमाडौँ – अहिले  कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने  तराईका थोरै स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ।

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राती कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले विगत पाँच दिनदेखि मध्य तराई र आसपासमा दिनभरि हुस्सु–कुहिरो लागेको जनाएको छ। यहाँको अधिकतम तापक्रम औसत अधिकतम तापक्रम भन्दा कम हुन गई नेपालगन्ज, भैरहवा र सिमरा केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम भन्दा ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ।

सो स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बिच ५ डिग्री सेल्सियस भन्दा कम भिन्नता आएको देखिन्छ। साथै तराईका धेरै भूभागमा मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम कै हाराहारीमा देखिएको छ।

मौसम विश्लेषण अनुसार हाल नेपालको तराई भूभाग विशेषतः सिमरा देखी  नेपालगन्जका अधिकांश भू–भागहरूमा मध्यम किसिमको शितलहर देखिएको छ र नेपालगन्ज देखी पश्चिम तराईका भू–भागहरूमा मन्द  शितलहरको अवस्था देखिएको महाशाखाले जनाएको हो।

यो अवस्था अझ १–२ दिन सम्म रहने सम्भावना छ।   सिमरा भन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढ्नुका साथै बिहान हुस्सु – कुहिरो लाग्ने सम्भावना देखिएकोले आगामी १ – २ दिन सम्म चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले विशेष बुलेटिनमार्फत आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?