नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल

उस्तै सिनेमाको पनि कतै राम्रो, कतै नराम्रो समीक्षा आउँछ: केकी अधिकारी

काठमाडौँ– अभिनेत्री केकी अधिकारीले उस्तै खालका सिनेमाको कहिले राम्रो र कहिले नराम्रो समीक्षा आउने गरेको बताएकी छिन् ।

काठमाडौँमा जारी सातौँ नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘फिल्म समीक्षाः ताली कि गाली’ सेसनमा बोल्दै उनले समीक्षा दर्शकका लागि लेखिनुपर्ने बताएकी हुन् ।

उनले नेपाली फिल्म अझै पनि सिकाइकै क्रममा रहेको र समीक्षा पनि त्यसरी नै अगाडि बढेको तर्क गरिन् ।

‘नेपाली फिल्म उद्योग अझै पनि पूर्ण रुपमा तयार भएको छैन र दर्शकले पनि समीक्षाका आधारमा फिल्म हेर्ने अवस्था आएको छैन,’ उनले भनिन्, ‘दर्शकले समीक्षाको भन्दा पनि दर्शकको प्रतिक्रियाका आधारमा फिल्म हेर्न जाने गरेको पाइन्छ ।’

उनले फिल्मको जनरा अनुसार कुनै फिल्मलाई समीक्षकले पक्षमा लेखेको र कुनै फिल्मको नकारात्मक समीक्षा लेखेको तर्क गरिन् । साथै उनले समीक्षकले कतिपय फिल्मको स्वार्थमा रहेको समीक्षा लेख्ने गरेको पनि बताइन् ।

‘उस्तै खालको फिल्मलाई पनि कुनैलाई राम्रो र कुनैलाई नराम्रो भनेको पाउँछौँ, निर्देशक कलाकार र व्यक्ति फरक भए पनि ती दुवैको समीक्षा फरक भएको पाइन्छ,’ उनले भनिन् ।

उनले समीक्षा व्यक्तिको आफ्नो दृष्टिकोण भए पनि समीक्षकले राम्रो छ भने कुन पक्ष राम्रो छ र कुन पक्ष नराम्रो छ भनेर स्पष्ट रुपमा लेख्नुपर्ने तर्क गरिन् ।

‘फिल्मको के राम्रो छैन, सिनेमाटोग्राफी हो कि, निर्देशन पक्ष नराम्रो हो कि, त्यसलाई भन्न सक्नुपर्छ,’ उनले भनिन्, ‘हामीले राम्रो गर्दै जाने हो, बाँकी त्यसले भोलि पक्कै राम्रो गर्ला ।’

उनले आफ्नो फिल्मी वृत्ति (करिअर) मा समीक्षाकै कारणले कुनै फिल्मलाई प्रभाव पारेकोजस्तो नलागेको पनि तर्क गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?