स्वास्थ्य

कुन उमेर समूहका व्यक्तिलाई मुटु रोगको जोखिम बढी हुन्छ ?

पछिल्लो समय मुटु रोगका बिरामीहरुको सङ्ख्या बढ्दै गइरहेको छ । अस्वस्थकर र व्यस्त जीवनशैली, लापरवाही र व्यक्तिको खानपानको कारण पनि मुटु रोगका बिरामीहरू बढ्दै गएका छन् ।

मानव शरीरका अङ्गहरुमध्ये मुटु एक जटिल अङ्ग हो । यो हरपल धड्किरहन्छ । छातीभित्र धड्किरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म प्रभाव पारिराखेको हुन्छ ।

मुटु रोग कस्तोरोग हो ? यसका लक्षण र बच्ने उपायहरु के –कस्ता रहेका छन् भन्ने सन्दर्भमा मुटु रोग विशेषज्ञ डा. रञ्जित शर्मासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

मुटु रोग भन्नाले के बुझ्ने?

हाम्रो मुटुले राम्ररी काम गरेन वा अन्य विभिन्न कारणले मुटुमा असर पुग्यो भने मुटु रोग हुन्छ । यो निकै संवेदनशील रोग हो । सामान्यतया मुटुमा लाग्ने रोगलाई मुटु रोग भनिन्छ । यसलाई अर्को शब्दमा हृदयरोग पनि भनिन्छ । मुटुको रोग भन्नाले ‘हार्ट अट्याक’ वा ‘हार्ट फेल’ भनेर पनि बुझ्ने गरिएको पाइन्छ । तर यसलाई मात्र मुटु रोग भन्न मिल्दैन । यसका अतिरिक्त मुटुसम्बन्धी अन्य धेरै रोग हुन्छन् ।

त्यसो भए मुटुसम्बन्धी रोग के के हुन्छन्?

मुटु रोग मुख्यतया दुई प्रकारका हुन्छन् । पहिलो जन्मजात मुटु रोग र दोस्रो भनेको पछि उमेर हुँदै जाँदा लाग्ने रोग हो । यसका अलावा मुटु रोगका अन्य प्रकारहरु धेरै नै छन् ।

जन्मजात रोग जन्मिँदा नै लिएर आउने मुटुसम्बन्धी रोगलाई जन्मजात मुटु रोग भनिन्छ । जन्मदा नै शिशुको मुटुमा प्वाल हुने, मुटुमा विकृति देखिने, मुटुमा चारवटा कोठाको सट्टा तीनवटा मात्र हुने वा पाँचवटा हुने, मुटुको रक्त नलीको नसाहरू बाङ्गोटिङ्गो भएर जोडिने भएमा तिनलाई जन्मजात मुटु रोग भनिन्छ । यस्तै जन्मदाखेरि कुनै बच्चा नीलो पनि हुन सक्छ । नीलो जन्मेका बालबालिकाको समयमै उपचार हुनु आवश्यक छ ।

यदि समयमै उपचार भएन भने बालबालिकाहरुको ज्यान समेत जाने जोखिम हुन्छ । त्यसकारण जन्मजात मुटुको रोग सामान्यदेखि लिएर जटिल हुने गर्छ । यसमा बच्चा जन्मने समयमा नै मुटुमा प्वाल हुने हो ।

त्यस्तै अर्को जन्मपश्चात् लाग्ने मुटु रोग हाम्रो जीवनशैली, खानपानबाट प्रभावित हुन्छ । ब्लड प्रेसर बढी हुनु, मानसिक तनाव लिनु, चुरोट, रक्सीको सेवन गर्नुजस्ता कारणहरुले गर्दा यो रोग लाग्ने गर्दछ ।

मुटु रोग लाग्दा देखिने लक्षणहरु के–के हुन् ?

मुटु रोग लाग्दा देखिने लक्षणहरु छातिको बीचको भाग दुख्नु, दम बढ्नु, टाउको दुख्ने र चक्कर लाग्नु, मुटुको धड्कन रोकिने वा छिटो चल्नु, हात, खुट्टा, ओठ आदि झट्का दिँदै अनियन्त्रित रुपमा चल्नु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु आदि हुन् ।

यस्तो रोग लाग्नुको मुख्य कारण के हो ?

मुटु रोग लाग्नुको मुख्य कारण भनेको अस्वस्थकर जीवनशैली नै हो । अरु कारणहरुमा उच्च रक्तचाप, अत्याधिक मध्यपान वा धुम्रपान, मोटोपना, रगतमा कोलेस्टेरोल वा चिलो पदार्थ बढ्नु, व्यायाम नगर्नु, फलफूलहरुको सेवन नगर्नु, चिल्लो, तारेको खाना वा जंक फुडको अत्यधिक प्रयोग र वशांणुगत कारणहरुले पनि यस्तो रोग लाग्ने गर्दछ ।

कस्तो जीवनशैली अपनाइयो भने मुटु रोगबाट बच्न सकिन्छ ?

मानसिक तनाब नलिने, जंक फुडहरु कम गर्ने, नुन कम गर्ने, दैनिक खानामा सागसब्जी, फलफूलहरुको मात्रा बढाउने, माछा–मासुहरु कम खाने र खानामा चिल्लो कम गर्नुपर्दछ ।

मुटु रोग भन्नेबित्तिकै मान्छे डराउने, प्राणघातक रोग हो भनेर बुझ्ने गरिन्छ ? यो कति जटिल रोग हो?

हृदयघात भयो भने ज्यानै जानसक्छ । हार्ट फेलियर भयो भने मुटुको काम गर्ने क्षमता कम हुने र लामो समय औषधी खानुपर्दछ । यसकारण मुटु रोग जटिल रोग नै हो । तर अहिलेको परीपेक्षमा हाम्रै देशमा मुटु रोगको गुणस्तरीय उपचार भइरहेको छ ।

उपचारकै अभावमा ज्यान नै गुमाउनुपर्ने अवस्था त छैन । तर हामीले समयमै उपचार गराउन सके धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसको उपचार भने जतिसक्दो चाँडो अस्पताल जाने र उत्तिनै छिटो ब्लक भएका नशाहरुलाई खोल्ने नै हो । यो रोग जतिनै भएपनि उपचार पद्धति पनि छ ।

जटिलभन्दा जटिल अवस्थामा जस्तै भल्बहरु फेर्नुपर्ने भएमा भल्बको नै रिप्लेसमेन्ट गर्न सकिन्छ । ओपन हार्ट, मुटुको बाइपास पनि गर्न सकिन्छ । मुटुको रोगलाई लिएर विदेश नै जानुपर्ने अवस्था छैन । नेपालमै पनि धेरै प्रविधि विकास भइसकेका छन् ।

कुन उमेर समूहका व्यक्तिहरुलाई मुटु रोगले सताउने गर्छ ?

जन्मजात मुटु रोग भन्दा बाहेक मुख्यतया पुरुषहरु ४० वर्ष कटेपछि र महिलाहरु ३५ वर्ष कटेपछि मुटु रोगले सताउने गर्दछ ।

लैङ्गिक हिसाबले महिला र पुरुषमध्ये कसलाई यो रोगले बढी धेरै ग्रसित बनाउँछ ?

लैङ्गिक हिसाबले भन्नुपर्दा पुरुषहरुमा मुटु रोगको जोखिम बढी छ, किनभने महिलाहरुमा महिनावारी हुने गर्दछ । हाम्रोन परिवर्तन भइरहन्छ । महिनावारी सुकेपछिको खण्डमा त महिला पुरुषको तथ्याङ्क समान जस्तै देखिन्छ । तर महिनावारी क्रमश हुँदै गर्दा महिलाहरुमा मुटु रोगको जोखिम कम नै हुन्छ ।

अन्तिममा पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

सुरुमा त पहिले आफूमा के समस्या छ भनेर पत्ता लगाउनुपर्छ । डाक्टरको निगरानीमा बस्नुपर्दछ । दैनिक व्यायाम गर्ने बानी बसाल्नुपर्छ । स्वस्थकर खानेकुराको सेवन गर्ने र अर्को महत्त्वपूर्ण कुरा भनेको व्यक्तिले आफ्नो उमेर अनुसार जीवनशैली बदल्नुपर्छ । २५/३० वर्षको उमेरमा भएको तपाईँको जीवनशैली ४० कटेपछि फरक हुनुपर्छ । उमेरसँगै आफ्नो व्यवहार र जीवनशैली पनि बदल्न सके भने जीवनशैली सामान्य हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?